पुल बनाउनै मान्दैनन् चक्रपथका ठेकेदार

दुई वर्षमा पनि पूरा भएन ४५ प्रतिशत काम


नेपाल समाचारपत्र, काठमाडौं । चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी–कोटेश्वर खण्डको विभिन्न भागमा सडक विभागले आकाशे पुल निर्माणको काम गरिरहेको छ ।

यात्रुको सहजताका लागि विभागले बालकुमारी, सातदोवाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा गरी ६ स्थानमा आकाशे पुल बनाइरहेको हो ।
चीन सरकारले यस सडकमा कोटेश्वर र धोबीघाटमा गरी दुई स्थानमा आकाशे पुल निर्माण गरेको थियो । विभागले दुई वर्षअघि पुल निर्माणका लागि ठेक्का लगाई ठेकेदार छनोट भइसकेर काममा लागिसकेको त छ तर अहिलेसम्म कुनै पुल सम्पन्न भइसकेको छैन ।

सानेपा, बल्खु र महालक्ष्मीस्थानबाहेक सबै स्थानमा काम सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागका इन्जिनियर निरञ्जन शर्माले सानेपा र बल्खुमा जगको कामबाहेक केही नभएको र महालक्ष्मीस्थानमा सुरु समेत नभएको बताउनुभयो ।

उहाँका अनुसार असार मसान्तसम्म ६ वटै पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर दुई वर्षभित्र नबनेको पुल यो असारमा पनि सम्पन्न हुन सकेन । ‘६ वटै पुल निर्माण सम्पन्न गर्ने समयावधि यो असार मसान्तसम्म थियो । तर कुनैमा काम आधा पनि सकेको छैन भने कुनैमा सुरु समेत भएको छैन’ –उहाँले बताउनुभयो ।

दुई वर्षअघि २५ करोड लागतमा निर्माण सम्पन्न गर्न ६ ओटा पुलको विभिन्न कम्पनीसँग सम्झौता भएको थियो । सानेपा, बल्खु र महालक्ष्मीस्थानमा आकाशे पुल निर्माण गर्ने जिम्मा पूर्णचण्डी÷ड्रामा जेभीले पाएको थियो । तर दुई वर्ष सकिन केही हप्ता मात्रै बाँकी रहँदा पनि ठेकेदार पक्षले जोडबल नगरिएकोप्रति विभाग आक्रोशित बनेको इन्जिनियर शर्माले बताउनुभयो ।

ठेकेदारले आफ्नो प्राविधिकलगायत अन्य समस्या देखाएर आलटाल गर्दै काम गर्न नमानिरहेको भन्दै उहाँले ठेकेदार कारबाहीमा पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘ठेकेदार पक्ष बनाउने त भन्छन् तर कामै सुरु ग¥या छैन । असारभित्र सम्पन्न नभए ठेकेदार कारबाहीमा पर्छ । हामीले ठेकेदारलाई ताकेता गरेका छौँ ।’

विभागले दुई वर्ष बितिसक्दा पनि ४५ प्रतिशत काम नसकिएको जनाउँदै सानेपा, बल्खु र महालक्ष्मीस्थानबाहेकको स्थानका पुल बनाउने कामले केही गति लिएको दावी गरेको छ ।

कोटेश्वर–कलंकी सडक मर्मत मनसुनपछि
चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा मर्मत–सम्भारको काम मनसुनपछि सुरु गर्ने सडक विभागले जनाएको छ । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको चक्रपथको उक्त सडक खण्डको केही भागमा टुट्फुट देखिएको छ ।

अहिले मर्मत–सम्भार गर्न सम्भव नहुने भएकाले मनसुन रोकिएपछि उक्त कार्य गर्ने काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरन्जन शर्माले जानकरी दिनुभयो ।

एकान्तकुना, महालक्ष्मीस्थान र सातदोबाटो सडक खण्डमा टुटफुट देखिएको छ । यसअघि ग्वार्काे, बिएण्डबि ओरालो, चापागाउँ दोवाटो, महालक्ष्मी स्थान, एकान्तकुना लगायतमा पर्ने सडक खण्डमा सडक भत्किएको थियो ।
टुट्फुट भएको उक्त सडक खण्डलाई थप विग्रिन नदिन जिम्मेवार ढंगले लागिरहेको बताउँदै इन्जिनियर शर्माले भन्नुभयो–‘सडक निर्माण सम्पन्न भएपछि तत्काल मर्मत पनि गर्नुपर्नेहुन्छ किनकी टुटफुट आउन सक्छ । यो पनि त्यही अन्तर्गत परेको हो ।’

चक्रपथको उक्त सडक कतै भासिएको त कतै चर्केको देखिन्छ । गत माघमा चीन सरकारले १० किमि लम्बाइको उक्त सडक विस्तार गरी सडक विभागलाई हस्तान्तरण गरेको थियो ।