सावित्राको सहयोगले सेथु च्याम्पियन



काठमाडौं, (नेस)
नेपाली महिला राष्ट्रिय फुटबल टिमका चर्चित स्ट्राईकर सावित्रा भण्डारीको सहयोगले सेथु एफसी भारतीय महिला लिग च्याम्पियन बनेको छ ।

गत संस्करण उपविजेतामा सिमित सेथु नेपाली स्ट्राइकर साबित्राको महत्वपूर्ण योगदानमा पहिलो पटक उपाधि जित्न सफल भयो । तामिलनाडु क्लबका लागि सावित्राले दुई गोल गरेपछि सेथुले मणिपुर पुलिस स्पोर्टस क्लबलाई ३–१ गोलअन्तरले हराउँदै पहिलो पटक भारतीय महिला लिग च्याम्पियन बन्न सौभाग्य प्रांप्त ग¥यो ।

सेथुको जितमा सावित्रासँगै कप्तान इन्दुमतीले एक गोल गरिन् । मणिपुरका लागि राधारानीले सूरुआती अग्रता दिलाए पनि टोलीलाई जिताउन भने सकिनन् ।

लुधियानास्थित गुरु नाणक स्टेडियममा भएको फाइनल खेलको ४४औं मिनेटमा राधारानीले गोल गर्दै मणिपुरलाई पहिलो हाफसम्म १–० ले अघि पारेकी थिईन् । तर ५६ औं मिनेटमा सेथुकी कप्तान इन्दुमतीले बराबरी गोल फर्काएकी थिइन् । जसमा सावित्राले नै बल उपलब्ध गराएकी थिइन् ।

त्यसको ४ मिनेटपछि नै नेपालकी सावित्राले इन्दुमतीको पासलाई सदुपयोग गर्दै सेथुलाई २–१ ले अग्रता दिलाइन् । त्यसको १० मिनेट लगत्तै सावित्राले ब्यक्तिगत दोस्रो गोल गर्दै सेथुको जित ३–१ ले सुनिश्चित पारिन् ।

उक्त दुई गोलसँगै सावित्राको भारतीय महिला लिगमा गोलसङख्या १५ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहिन् ।

प्रतिक्रिया दिनुहोस्