घुस लेनदेनमा सिरहा जिल्ला नम्बर वान



सुभेन्द्र दास लहान, लहान ।
अन्य जिल्लाको तुलनामा सिरहामा व्यापक भ्रष्टाचारी बढेको खुलासा भएको छ । सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनुपरेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको सेवाग्राही सर्वेक्षणले सार्वजनिक गरेको छ ।

सिरहाका सरकारी कार्यालयमा सर्वाधिक घुस लेनदेन भइरहेको अवस्थामा अख्तियार अनुसन्धान आयोगले एक बर्षमा आधा दर्जन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले लहानको नापी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, मालपोत सिरहा, जिल्ला समन्वय समितिका एक इन्जिनियरलाई, कल्याणपुर नगरपालिकालगायतका आधा दर्जन कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । सिरहाको १७ स्थानीयतहमा १० वढी पालिकामाथी अख्तियारमा उजुरी परेको छ । सिरहाको अधिकाँश सरकारी कार्यालयमा सेवाग्राहीलाई घुस विना काम नगरिदिने अवस्था छ ।

सरकारी अड्डामा मौलाएको घूसखोरीले सेवाग्राहीमा असन्तुष्टिको पारो पनि चर्को रहेको अध्ययनको निष्कर्ष छ ।

सतर्कता केन्द्रले सिरहा, बाग्लुङ, अर्घाखाँची, ओखलढुंगा चितवन र बैतडीलाई नमुना छनोट गरी सर्वेक्षण गर्दा सिरहामा सबैभन्दा धेरै ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनुपरेको बताएका हुन् । यस्तै अर्घाखाँचीमा १२ , ओखलढुंगामा ८ र बाग्लुङमा ५ प्रतिशत सेवाग्राहीले सरकारी कर्मचारीलाई घुस दिएर मात्रै काम गरेको बताएका छन् ।

कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि समयमा काम नगर्ने कारण सेवाग्राहीमा असन्तुष्टिको मात्रा पनि निकै चर्को रहेको सतर्कताको अध्ययनले देखाएको छ । सेवा प्राप्त गर्न सरकारले तोकेभन्दा अतिरिक्त दस्तुर अर्थात् घुस माग्ने प्रवृत्ति मध्य मधेशमा उच्च देखिएको छ । सूचना र जनचेतनाको अभावका कारण पनि घुसखोर कर्मचारीले खुलेआम अतिरिक्त रकम माग्ने र नदिए काममा अलमल्याउने प्रवृत्ति मौलाएको अध्ययनको निष्कर्ष छ ।

सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दिए पनि सरकारी अड्डामा खुलेआम घुस माग्ने प्रवृत्ति नियन्त्रण नभएको यस अध्ययनले प्रस्ट देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्