इन्धन भारततिरै तस्करी



नेपाल समाचारपत्र, भद्रपुर ।
झापाका सिमावर्ती क्षेत्रमा सञ्चालित पम्पबाट भारत तर्फ इन्धन तस्करी भइरहेको छ । भारतभन्दा नेपालमा इन्धन केही सस्तो भएकोले भारतीय सवारी साधनमा भरेर लैजाने त कसैले साइकलमा ग्यालेन र ड्रमबाटै तस्करी हुने गरेको स्थानीयको भनाइ छ ।

नेपालमा पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ ५० पैसा र डिजेल ९५ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको नेपाल आयल निगमको चारआली डिपोले जनाएको छ । डिपोका सूचना अधिकारी लोकमणि पौडेलका अनुसार भारतमा डिजेल प्रतिलिटर १ सय १० रुपैयाँ ९५ पैसा र पेट्रोल १ सय १९ रुपैयाँ ५७ पैसा कायम भएको छ । पेट्रोल प्रतिलिटर ११ दशमलव ७ र डिजेल १५दशमलव ४४ रुपैयाँले सस्तो हुँदा भारतीय सवारीको लर्को लाग्ने तथा तस्करी हुनसक्ने उनको भनाइ छ ।

नेपालमा धेरै तेल हाल्दा फाइदा हुने हुँदा यता आउने गरेको भारतीय चालक बताउँछन् । यता आएको समयमा ट्यांकी पूरै भरेर जाने गरिएको उनिहरुको भनाइ छ । एउटा पम्पबाट दैनिक ३ सयभन्दा बढी भारतीय सवारी साधनले तेल भर्ने गरेको पम्प सञ्चालको भनाइ छ ।
काँकडभिट्टा, इँटाभट्टा, धुलाबारी, चारआली, भद्रपुर, बनियानी ,गौरादह, राजगढ लगायतका पम्पमा तेल भर्न आउनेकोे चाप उच्च देखिन्छ । सीमावर्ती क्षेत्रका पेट्रोल पम्पमा तेलको बिक्री बढेको डिपोले जनाएका छन् । सीमा क्षेत्रका पम्पबाट तेलको माग अत्याधिक आउने गरेको छ । तेल भर्न आउने भारतीय सवारीको संख्या बढ्दै गएपछि माग पनि बढेको पौडेलले बताए ।

नेपाली होइन, भारतीयलाई तेलमा प्राथमिकता दिने गरेको गुनासो आएपछि यस विषयमा निगमले अनुगमन टोली खटाएको थियो । त्यस क्रममा सीमित भारतीय सवारी तेल भर्नकै लागि आएको भेटिएको र पहिलो प्राथमिकता नेपाली सवारीलाई दिन निर्देशन दिइएको पौडेलले सुनाए । उनले पम्प सञ्चालकलाई बढी तेल बिक्री गर्दा फाइदा हुने भएकाले भारतीय सवारीलाई प्राथमिकतामा राखेको हुन सक्ने बताए ।
जिल्ला प्रशासन कार्यालय झापामा केही समयअघि बसेको बैठकले इन्धनको तस्करी मौलाउन नदिन सीमा क्षेत्रका प्रहरीलाई निर्देशन दिएको थियो ।

चारआली डिपोले तेल वितरण गर्ने झापा, इलाम, पाँचथर र ताप्लेजुङमा १ नमुनासहित ५१ वटा पम्प छन् । त्यसमध्ये सबैभन्दा धेरै झापामा ४२ वटा रहेको चारआली डिपोको तथ्याङ्क छ । सबैभन्दा बढी डिजेल, त्यसपछि पेट्रोल र अन्त्यमा मट्टितेलको माग छ ।

प्रतिक्रिया दिनुहोस्