सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश



विमल विष्ट, काठमाडौं ।
राज्य बिरुद्धको संगठित अपराधमा मुद्दा खेपिरहेका सीके राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले बिहीबार साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

जिल्ला अदालत रौतहटले राउतले राज्य बिरुद्धको संगठित अपराध गरेको ठहर गर्दै गएको मंसिर १० गते उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालत रौतहटले थुनामा राख्न आदेश दिएपछि सिके राउतले उच्च अदालत जनकपुरमा पुनरावेदनकालागि निबेदन दिएका थिए । उच्च अदालत जनकपुरको अस्थायी ईजलास बिरगंजले त्यसकोे लगत्तै जिल्ला अदालत रौतहटले गरेको आदेश सदर गरेको थियो ।

राउतले राज्य बिरुद्धको संगठित अपराध गरेको तत्काल दशी प्रमाण हेर्दा थुनामा राख्नु पर्ने अवस्था नदेखिएको र अन्तिम फैसला पछि ठहरे बमोजिम हुने भएकाले हाललाई जिल्ला अदालत रौतहट र उच्च अदालत जनकपुरको अस्थायी ईजलास बिरगंजले गरेको निर्णयलाई बदर गर्दै राउतलाई थुनामुक्त गर्नु भन्ने आदेश भएको सर्वोच्च अदालतका सञ्चारबिज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

उहाँल भन्नुभयो–‘सिके राउतको दशी प्रमाण हेर्दा थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले,हाललाई थुनमुक्त गरी तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने आदेश भएको छ ।’ राउत पक्राउ परेका बेलामा प्रहरी समक्ष गरेको बयान समेत ईन्कार गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्