निर्मला हत्या प्रकरणः छ जना प्रहरीसंग बयान लिइदै, तत्कालिन एसपी बिष्ट र डीएसपी जिसी फरार



मनोज भट्ट, महेन्द्रनगर ।
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा प्रहरी बिरुद्ध दायर भएको मुद्धामा बयान लिने कार्य सुरु भएको छ । बुधवार यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालत कञ्चनपुरमा दायर भएको मुद्धामा बयान दिने कार्य बिहिवारदेखि सुरु भएको हो ।

बयानका लागि मुद्धा परेका ८ जना प्रहरी मध्ये तत्कालिन एसपी डिल्लीराज विष्ट र डिएसी अंगुर जिसी बाहेक अन्य ६ जना जिल्ला अदालतमा उपस्थित भएका छन् । निलम्बित डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बयानका लागि अदालतमा उपस्थित भएका छन् । निर्मलाकी आमा दुर्गादेवि र दिलिपसिँह विष्टका दाई खडक सिंह विष्ट पनि अदालतमा उपस्थित भएका छन् ।

मुद्धा परेका ८ प्रहरीमध्ये ६ जना मात्र बयानका लागि अदालतमा उपस्थित भएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले यातना तथा प्रमाण नष्ट गरेको भन्दै तत्कालिन एसपीसहित ८ जना प्रहरीबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । फरक दुई बिषयमा दायर मुद्धाको बयान कार्य बिहिबारदेखि नै सुरु भएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ ।

अदालतमा उपस्थित भएकाहरुको बयान लिइने अदालतले जनाएको छ । त्यसपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउन आदेश हुनेछ ।

अदालतमा उपस्थित नभएका तत्कालिन एसपि विष्ट र डिएसपी जिसीका लागि भने उपस्थित हुन आदेश गर्दै म्याद थप्ने अदालत स्रोतले जनाएको छ ।

गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्त नगरपालिका– २, की निर्मला पन्तको अर्को दिन साथीको घरको नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
घटनाको छानविन गर्न गठित विभिन्न समितिहरुले तत्कालिन प्रहरी नेतृत्वले चरम लापरबाही गरेका ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्