भ्रष्टाचारले सीमा नाघ्यो नेपाल १२४औं स्थानमा


नेपाल समाचारपत्र, काठमाडौं
भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल १२४औं स्थानमा उक्लेको छ। गत वर्षको तुलनामा यस वर्ष नेपालले गत वर्षको जस्तै समान अंक ३१÷३१ पाएको छ। गत वर्ष नेपाल ३१ अंक पाएर १२२औं स्थानमा थियो।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा १ सय ८० मुलुकमध्ये नेपाल १२४औं स्थानमा पुगेको छ।
ट्रान्सपरेन्सीले १ सय ८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यवसायीको अवधारणालाई मूल्यांकन गर्दै यो सूचकाङ्क सार्वजनिक गरेको हो। सूचकाङ्कमा १०० पूर्णाङ्कले स्वच्छ र ० अंकले अति भ्रष्टाचार हुने संकेत गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ।

त्यस्तै कुल १०० मा ८८ अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने र १० अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ।

दक्षिण एसियामा भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रहेको पाइएको छ। ६८ अंक प्राप्त गरेको भुटान २५औं स्थानमा छ। यसै गरी ४१ अंक प्राप्त गरी भारत ७८औं स्थानमा, ३१ अंक प्राप्त गरी मालदिभ्स र नेपालसँगै १२४औं स्थानमा, २६ अंक प्राप्त गरी बंगलादेश १४९औं स्थानमा र १६ अंक प्राप्त गरी अफगानिस्तान १७२औं स्थानमा छन्। त्यस्तै ३८ अंक प्राप्त गरी ८९औं स्थानमा श्रीलंका रहेको छ भने ३३ अंक प्राप्त गरी पाकिस्तान ११७औं स्थानमा रहेको जनाएको छ। नेपालको उत्तरी छिमेकी मुलुक चीन भने ३९ अंक प्राप्त गरी ८७औं स्थानमा रहेको सूचकाङ्कमा उल्लेख छ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।