स्वास्थ्यकर्मीविहीन स्वास्थ्य चौकी


धनवीर दाहाल, रुकुम
मंगलबार बिहानै सुत्केरी व्यथा लागेपछि त्रिबेणी गाँउपालिका वडा नं ३ खारा नेटामा रहेको स्वास्थ्य चौकीमा त्रिबेणी ३ कै टिका खड्का लाई पुर्याइयो । तर स्वास्थ्य संस्थामा पुर्याउँदा न त्यहाँ स्वास्थ्यकर्मी थिय नत स्वास्थ्यचौकी खुल्ला थियो । सुनसान रहेको स्वास्थ्य चौकीमा केही सिप नलाग्ने भएपछि त्रिबेणी गाँउपालिका कै सिम्रुतुमा रहेको प्रसुति गृहमा लिएर उनलाई सुरक्षित प्रसुति गराइयो ।

टिकालाई त उनका आफन्त लगाएतको सहयोगमा सुरक्षित ठाँउमा लगेर प्रसुति गराइयो तर गाँउ नजिकै स्वास्थ्य चौकी भएकोले कुनै रोग लाग्दा उपचार गराउने आसामा रहेका स्थानीयले भने खारानेटाको स्वास्थ्य चौकीबाट उपचार पाउन सकेका छैनन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ मा रहेको खारानेटा स्वास्थ्य चौकी यति बेला स्वास्थ्यकर्मी बिहिन बनेको छ ।

नेपाली सेनाको देवीदल गणद्धारा गत जेठमा निर्मित पाँच शैयाको स्वास्थ्य चौकीमा दरवन्दी अनुसार पदपूर्ति नहुँदा डाक्टर बिहिन बनेको हो ।
करिव २० लाख बराबरको लागतमा शौचालय र स्नान कक्ष सहित यहाँका बिरामीलाई सेवा दिने गरी गाउँपालिका केन्द्र नजिकै स्वास्थ्यचौकी सञ्चालनमा आएको थियो । नेपाली सेनाले गाउँपालिकालाई हस्तान्तरण गरेको स्वास्थ्यचौकीमा आवश्यक डाक्टर नहुँदा यसक्षेत्रका बिरामीहरु मर्कामा परेका छन् ।

स्वास्थ्य संस्था बन्द हुँदा बिरामी अलपत्र

उपचारका लागि दिनहुँ स्वास्थ्यचौकीमा आउने बिरामीहरु डाक्टर नभएकै कारण केही महीनादेखी स्वास्थ्य चेकजाँच नगरी घर फर्कने बाध्य भएका छन् । सामान्य ज्वरो, रुँघाखोकी, पखाला लगायत समस्याको उपचार र औषधी समेत स्वास्थ्यचौकीबाट पाउन नसकिएको गुणासो यस क्षेत्रका सर्वसाधारणले सुनाउँदै आएका छन् । पछिल्लो समय उपचारकै लागि स्वास्थ्यचौकीमा आउने बिरामीहरुको बाक्लो भिड लाग्ने गरेको तर स्वास्थ्य चौकीबाट कुनैपनि सेवा पाउन नसकिएको स्थानीय बताउँछन् ।

स्थानीयवासी धनमाया ओलीका अनुसार यहाँको स्वास्थ्यचौकी संधै बन्द हुने गरेको छ । ‘घर नजिकै अस्पत्ताल बन्यो, तर डाक्टर छैनन्,‘ उहाँले भन्नुभयो । स्वास्थ्यचौकी बन्द भएकै कारण यो ठाउँका बिरामीहरु हाल जिल्ला सदरमुकाम सल्ले, दाङ्ग, नेपालगञ्ज लगायत ठाउँमा उपचारका लागि जान बाध्य बनेका छन् । यता त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी मानबहादुर खत्रीले भने स्वास्थ्य चौकीका लागि आवश्यक दरवन्दी माग गरिएको बताउनुभयो ।

स्वास्थ्यचौकीलाई आवश्यक पर्ने जनशक्तिको दरवन्दी सिर्जना गरी स्वास्थ्य मन्त्रामन्त्रालयमा पठाईएको, तर त्यसको स्वीकृती भई नसकेको उहाँले जानकारी दिनुभयो । मन्त्रालयबाट दरवन्दी स्वीकृती भए लगत्तै तत्काल प्रयाप्त जनशक्तिको पदपूर्ति हुने र यसक्षेत्रका नागरिकले भने अनुसारकै सेवा सुविधा पाउने खत्रीको भनाई छ । साविकको मुरु, पेउघा र खारा गाविसका नागरिकलाई लक्षित गर्दै नेपाली सेनाको सहयोगमा छ महीना अघिबाट खारानेटामा स्वास्थ्यचौकी सञ्चालनमा आएको थियो ।