कांग्रेस महासमिति बैठक: आर्थिक व्यवस्थापनको जिम्मा तीन जिल्लाका सभापतिलाई


नेपाल समाचारपत्र, काठमाडौं
नेपाली कांग्रेसको महासमिति बैठकको लागि आर्थिक व्यवस्थापन गर्ने जिम्मा काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिले लिएका छन् । स्थानीय व्यवस्थापन तयारी समितिको बैठकले महासमिति बैठकलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति पनि गठन गरेको छ ।

मंसिर ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा हुने कांग्रेस महासमिति बैठकका लागि भक्तपुर जिल्ला सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन उपसमिति गठन गरिएको छ भने काठमाडौं जिल्लाको कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । बैठकले ललितपुर जिल्लाका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति र भक्तपुर जिल्ला सचिव निशान ढंगेलको संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरिएको पार्टी केन्द्रिय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिनुभएको छ ।

महासमिति बैठकमा आवासको व्यवस्था नगरिएको बताइएको छ । कांग्रेस महासमिति बैठकमा ३ हजार २ सयभन्दा बढीको उपस्थिति हुनेछ । विधान संशोधन मुख्य एजेण्डा रहेको महासमिति बैठकमा समसामयिक राजनीति र पार्टी भावी रणनीतिको बारेमा पनि छलफल हुनेछ ।

कांग्रेस केन्द्रीय समितिको गत भाद्र ९ गते बसेको बैठकले मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरिसकेको छ । महासमिति बैठकको मिति तोकिए पनि स्थान भने तोकिएको थिएन । महासमिति बैठक तयारीका सन्दर्भमा गत शनिवार सभापति शेरवहादुर देउवाको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी तथा उपत्यकाका तीनै जिल्ला कार्यसमितिको संयुक्त बैठकले भृकुटीमण्डपमा महासमिति बैठक बस्ने स्थान तय गरेको हो ।

महासमिति बैठकमा पेश गरिने संशोधित तथा परिमार्जित विधानको मस्यौदाको अन्तिम रुपदिने कार्य महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको केन्द्रीय विधान मस्यौदा समितिले गरिरहेको छ ।