उन्नत सामाग्रीसम्बन्धी चौथो अन्तराष्ट्र्रिय सम्मेलन सकियो


काठमाडौं(नेस)। त्रिभुवन विश्वविद्यालय रिकास्टको सहकार्यमा नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको चारदिने उन्नत सामाग्री सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ । समापन कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले मुलुकको विकास र समृद्धिको लागि विज्ञान तथा प्रविधिको महत्वबारे प्रकाश पार्नुभयो ।

उहाँले आविष्कारको क्षेत्रमा र यसको लागि सरकारको तर्फबाट आफूहरु जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको विश्वास दिलाउनुभयो ।
सम्मेलनमा नेपाल, अमेरिका, इटाली, दक्षिण कोरिया, भारत, चेक रिपब्लिक, जापान, जर्मनीलगायतका १५ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता रहेको थियो ।

उक्त सम्मेलनका अध्यक्ष प्रा.डा.रामेश्वर अधिकारीले देशमा विद्यमान विज्ञान तथा प्रविधिको श्रीवृद्धि, स्तरोन्नती र विकासको लागि सबै सरोकारवाला निकाय र यसका प्रतिनिधिहरुले हातमा हात र काँधमा काँध मिलाएर सहकार्य गर्न आग्रह गर्नुभयो ।

त्यस्तै पूर्व वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले वैज्ञानिक सम्मेलनले मुलुकमा अन्तर्राष्ट्रिय ज्ञान तथा सहकार्य गर्न टेवा पुग्ने बताउनुभयो । वैज्ञानिकहरुको क्षमता प्रदर्शनीमा सम्मेलनले अग्रणी भूमिका निर्वाह गरेको संस्थाका विनोद रायमाझीले बताउनुभयो ।