नेपाल समाचारपत्र, काभ्रे ।
जिल्लाको व्यापारिक केन्द्र बनेपाको गोदामचोकमा रहेको धनेश्वर महादेव गुठीको जग्गालाई मालपोत कार्यालय काभ्रेले मोही कायम गर्ने प्रक्रिया अघि बढाएसंगै आर्थिक चलखेल भएको आशंका गरि विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।
हालको मुल्याङ्कन अनुसार करिब १५ करोड रुपैया भन्दा बढी मुल्य जाने जग्गामा मोही कायम गर्न बनेपा ११ का प्रदिप जंगमको निवेदन अनुसार मालपोत कार्यालय काभ्रेले ३५ दिने हकदाबी सुचना समेत जारी गरिसकेको छ । बनेपा नगरपालिका वडा नं ११ को सिफारिसको आधारमा मालपोत कार्यालयले असोज १० गते नै हकदावी सुचना प्रकाशित गरिसकेको छ ।
बनेपा नगरपालिका वडा नं ७ गोदामचोकमा रहेको कित्ता नं २६ र २७ को ५ रोपनी १ आना १ पैशा जग्गा मध्य कित्ता नं २६ को २ रोपनी ९ आना ३ दाम जग्गाको मोहिमा अनन्त लिङ जंगम देखाइएको छ भने कित्ता नं २७ को २ रोपनी ७ आना २ दाम जग्गको मही खाली देखिएको छ । मालपोतको सुचनामा दुवै कित्ताको जग्गा धनीमा धनेश्वर महादेव गुठी उल्लेख छ ।
यो जग्गाको मोही कायम गर्ने सन्दर्भमा गुठी संस्थान केन्द्रिय कार्यालयले २०६६ पुस २६ गते प्रचलित कानुन अनुसार मोही सम्बन्धि कारवाही गर्ने अधिकार भुमिसुधार मन्त्रालयसंग मात्र भएकोले मोहि कायम गर्न नसकिने जनाएको थियो । तत्कालिन समयमा गुठी संस्थानले मोहि कायम गर्न नसकिने भन्दै जग्गा श्री धनेश्वर महादेवको नाममा दर्ता गराई पुर्जा लिनु भनी गुठी संस्थान शाखा कार्यालय धुलिखेल काभ्रेलाई पत्र पठाइएको थियो ।
जग्गा बनेपा नगरपालिका वडा नं ७ मा रहेको र सिफारिस बनेपा नगरपालिका वडा नं ११ ले गरेको सन्दर्भमा नेपाल समाचारपत्रले राखेको जिज्ञासामा वडा अध्यक्ष शिवकुमार थापाले भन्नुभयो– यो गलत हल्ला हो ।
मोहि कायम गर्ने, जग्गा नामसारी गर्ने लगाएतका सिफारिस व्यक्ति बसोबास गरेको वडाले गर्छ भने चारकिल्ला सिफारिस, घरबाटो सिफारिस लगाएतका काम जग्गा रहेको वडा कार्यालयले गर्ने उहाको भनाई थियो । यो जग्गा प्राइम लोकेशनमा भएको र करोडौं मुल्य पर्ने भएकोले अहिले अनावश्यक चर्चा चलाइएको उहाको भनाई थियो । साथै वडा अध्यक्ष थापाले आफुले आर्थिक प्रलोभनमा परेर सिफारिश गरेको भन्ने हल्ला पनि सबै गलत भएको बताउनु भएको छ ।
मालपोत कार्यालयले बनेपा नगरपालिका वडा नं ११ बाट कित्ता नं २६ र २७ को जग्गा जग्गधनीमा धनेश्वर महादेव गुठी र मोहीमा प्रल्हाद, विदुर, विनु, प्रदिप, सिता शर्मा, हरिप्रसाद जंगमहरु कायम गरि नामशारी गरिदिन सिफारिस गरिएको जनाएको छ । मालपोत कार्यालयको सुचनामा गुठी संस्थान काभ्रेले भने २०६५ श्रावण २७ गते उल्लेखित दुवै कित्ताहरुको जग्गा धनी जलेश्वर महादेव गुठी जनाई मोहि सम्बन्धि कारवाही भुमिसुधार कार्यालयबाट हुने गरि जग्गा दर्ता प्रमाणपुर्जा गुठी संस्थान कार्यालयमा पठाउन लेखेको देखिन्छ । यहा जलेश्वर र धनेश्वर नाम फरक देखिन्छ ।
उक्त जग्गामा मोही कायम गर्न माग गर्दै बनेपा ११ निवासि प्रदिप जंगमले जग्गा धनी धनेश्वर महादेव गुठी र मोहिमा आफ्नो हजुरबुवा अनन्त लिंग जंगम भएको साविक बनेपा ९ को कित्ता नं २६ र जग्गा धनी धनेश्वर महादेव गुठी भएको मोही महल खाली भएको कित्ता नं २७ को जग्गा मेरो बाजे बराजुको पालादेखि जोतभोग कमोद खाई आएको जनाउनु भएको छ । उहाले आफ्नो हजुरबुबा अनन्त लिंग जंगमको २०४३ सालमा र हजुरआमा बालकुमारी जंगमको २०४६ सालमा मृत्यु भएको जनाउनु भएको छ ।
यो जग्गाको हकदारमा उहाको एकमात्र छोरा शंकरप्रसाद जंगमको पनि २०६१ सालमा मृत्यु भएको निजको दुई श्रीमतीमा जेठी शिवकुमारी जंगमको २०२१ सालमै मृत्यु भएको कान्छी श्रीमती कान्छि जंगमको २०७१ सालमा मृत्यु भएको जनाइएको छ ।
यो जग्गाको हकदारमा जेठी तर्फका एकमात्र छोरा प्रल्हाद जंगम कान्छि तर्फका तीन छोरा विदुर जंगम, विनु जंगमको सनाखत मञ्जुरी र सनाखतले नाती नाताका प्रदिप जंगमले उक्त जग्गा तामेली मिसिल जगाई दर्ता नामसारी गरिपाउ भनि गत असोज १ गते मालपोत कार्यालयमा निवेदन दिनुभएको थियो । ‘यो बुहुमुल्य जग्गा भएकोले विवादमा आएको हो, कानुन अनुसार मोही कायम हुन्छ’ ११ नम्बरका वडा अध्यक्ष थापाले भन्नुभयो ।











प्रतिक्रिया