काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् झपटबहादुर रावलले चाडबाड र विभिन्न संस्कृतिका नाममा हाकिम सावलाई रक्सीका बोतल दिने र उपहार लिने दुबैलाई कारवाही गरिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद रावलले चाडवाडका नाममा उपहार लिनेदिने प्रथा बढेकाले तत्काल अन्त्य गर्नका लागि निर्देशन दिन समिति सभापति शशी श्रेष्ठलाई अनुरोध गर्नुभयो । ‘यसरी बोतल र उपहार बुझाएपछि नजिक हुन पाइन्छ भन्ने बुझाई हुन सक्छ, यो प्रणालीले जिम्मेवारी बहन नगर्ने र चाकडीमात्र गरिरहने बानिको बिकास हुन्छ’ सांसद रावलले भन्नुभयो ‘ जसले दिएपनि र जसले लिएपनि गलत छ तत्काल अन्त्य गरिनुपर्छ, दुबैलाई आजैबाट कारवाही हुनुपर्छ ।’ रावलले तल्लो तहकाले माथ्लो तहकालाई खुशी पार्न गरिने अनेक तरिकामध्ये यो नै बलियो भएको पनि बताउनुभयो । समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग भइरहेका काम कारवाही र भावी योजनाका बारेमा जानकारी लिएको थियो ।
सांसद रावलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भइरहेका विभिन्न योजनाहरुको निरीक्षण र अनुगमन गर्न नसकेको पनि आरोप लगाउनुभयो । उहाँले सम्पत्ति शद्धिकरण विभागले कारवाही गर्नुको साटो कारवाही गर्छु भनेर तर्साउने काम मात्र गरेको पनि बताउनुभयो । समितिले दोस्रो खण्डमा लोकसेवा आयोगसँग छलफल गरेको थियो ।
रावलले आयोगले अहिलेसम्म आफ्नो अस्तित्वलाई बचाइरहेको र सबैले पत्याउने निकायको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो ‘ मालपोत र नापीमा काम गर्ने कर्मचारी के पास गरेर आउँछन्, यसको परीक्षा पनि लोकसेवाले नै लिन्छ कि अरु त्यस्तो निकाय छ, पैसाबिना काम नै गर्दैनन् किन यस्तो भएको होला ।’








तपाईंको विचार लेख्नुहोस्