१४ वडा तथा नगरपालिका कार्यालयबाट अनलाइन सेवा शुरु



ललितपुर ।
२०७५ साल असोज १ गतेदेखि गोदावरी नगरपालिकाभित्रका १४ वटा वडा तथा नगरपालिका कार्यालयबाट अनलाइन सेवा शुरु भए लगत्तै सम्पति कर लागु भएको छ । नगरप्रमुख गजेन्द्र महर्जनले आज वडा नम्बर ७ देवीचौर कार्यालयमा आज अनलाइन सेवा सुचारु गर्नुभयो ।

सफ्टवेयर प्रणाली लागु भएपछि कर सङ्कलनमा पारदर्शिता आउने प्रमुख महर्जनको भनाइ रहेको छ । सम्पति कर लागु भएपछि सेवाग्राहीले कर बुझाउदा घर र घरले चर्चेको जग्गाको कर सम्पति कर बमोजिम तिर्नुपर्ने र बाकी जग्गाको भुमिकर मात्र बुझाए पुग्ने भएको छ । यो सेवा बैज्ञानिक आधार रहेको र राजश्व सङ्कलनमा चुस्त रहने उहाँको भनाइ रहेको छ ।

 

सफ्टवेयर प्रणाली लागु भएपछि दैनिक रुपमा सञ्चालनमा आउने हरेक काम सरल र बैज्ञानिक हुनेमा उहाँको विश्वास रहेको छ । यसरी जनतावाट असुल गरेको कर जनताकै चाहना बमोजिम विकास निर्माण कार्यमा खर्च गरिने प्रमुख महर्जनको भनाइ छ । चालु आवमा नगरपालिकाले प्रत्येक वडामा ६० देखि ८० लाखसम्म विकास बजेट छुट्याएको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले सफ्टवेयर प्रणाली लागु भए पछि कर्मचारीलाई समेत दैनिक काम गर्न सजिलो भएको बताउनुभयो । यो प्रणाली लागु भएपछि नगरप्रमुख महर्जनले पहिलो सेवाग्राही प्रेमप्रसाद घिमिरेलाई नाता प्रमाणितमा लाग्ने दस्तुरको कर बिजक प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्