आसरा सुधार केन्द्र रानीबारीको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न



काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २२ औं वार्षिकोत्सव कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा सोमबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनाल तथा उक्त केन्द्रकी अध्यक्ष प्रमीला खनालले केन्द्रकी पूर्वअध्यक्ष निर्मला प्रधान, पूर्वउपाध्यक्षहरु मुगा बान्तवा र सबिता शाहलाई संयुक्त रुपमा सम्मानपत्र प्रदान गर्नुभयो । साथै प्रहरी महानिरीक्षक खनालले केन्द्रको बार्षिक गतिविधिमा सहयोग गर्ने नेपाल प्रहरी संगीत विद्यालय, केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालयलाई प्रशंसापत्र तथा केन्द्रका प्रहरी कर्मचारीहरुलाई नगद तथा प्रशंसापत्र वितरण गर्नुभयो ।

 

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले कठिन परिस्थिति गुजारेर अघि बढेका केन्द्रमा उपचाररत सदस्यहरुले सकारात्मक सोच लिएर अघि बढेमा अब्बल नागरिक बनेर देशलाई थप योगदान पुर्‍याउन सक्ने बताउनुभयो । केन्द्रले समयसापेक्ष रुपमा प्रविधियुक्त भएर थप सेवा गर्नुपर्ने उल्लेख गर्दै केन्द्रलाई आवश्यक सहयोग गर्न नेपाल प्रहरी तत्पर रहेको समेत उहाँले बताउनुभयो ।

बाटो बिराएर लागूऔषध दूर्व्यसनमा फसेका व्यक्तिहरुलाई समाजमा पुनर्स्थापना गर्ने पवित्र कार्य गर्न केन्द्र तथा यसमा सहयोग गर्ने नागरिक समाजको योगदान विशिष्ट रहेको चर्चा गर्दै लागूऔषध दूर्व्यसन हुने अन्य स्थानमा समेत यस्ता केन्द्रहरु बिस्तार गर्नुपर्ने प्रहरी महानिरीक्षक खनालले बताउनुभयो ।

समारोहमा केन्द्रकी अध्यक्ष प्रमीला खनालले केन्द्रकी कार्यकारिणी समितिका सदस्य रीता श्रेष्ठ, सामुदायिक सेवा केन्द्र निलसरस्वतिस्थान लाजिम्पाटका अध्यक्ष गोपाल श्रेष्ठ र सामुदायिक सेवा केन्द्र कुलेश्वरका अध्यक्ष मनिजकुमार थापालाई कदरपत्र तथा केन्द्रका परामर्शदाता र रोलमोडललाई नगद तथा प्रशंसापत्र वितरण गर्नुभयो ।

लागूऔषधको कुलतमा परेर सयौंको संख्यामा निर्दोष व्यक्तिहरुले ज्यान गुमाउनु परेको सन्दर्भमा यस्ता समस्याको प्रभावकारी नियन्त्रणको लागि कानुन कार्यान्वयन साथै व्यापक जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने केन्द्रकी अध्यक्ष खनालले बताउनुभयो । केन्द्रले आफ्नो सीमित स्रोत र साधन प्रयोग गरेर निस्वार्थ रुपमा विशुद्ध कल्याणकारी र परोपकारी सेवाभावका साथ मन, वचन र कर्मले समाजमा परिवर्तन ल्याउन समर्पित रहेको समेत उहाँले बताउनुभयो ।


समारोहमा सम्मानित केन्द्रकी पूर्वअध्यक्ष निर्मला प्रधानले केन्द्रले स्थापना कालदेखि नै सीमित स्रोत र साधनका बाबजुद क्रमश सेवा विस्तार गर्दै गएकोमा खुसी व्यक्त गर्दै थप सेवा प्रवाह गर्न शुभकामना व्यक्त गर्नुभयो ।

केन्द्रकी सचिव महिमा शाहले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने केन्द्रको वार्षिक प्रकाशन ूआसरा दपर्णू समेत वितरण गरिएको थियो ।

उक्त अवसरमा प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत केन्द्रमा उपचाररत सदस्यका अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्