अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदक बराइलीलाई



काठमाडौं ।
नेपाल अर्बुद रोग निवारण संस्थाले यो वर्षको उत्कृष्ट पत्रकारिता पदक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीलाई आइतबार प्रदान गरेको छ ।

संस्थाको ३६ औं बार्षिकोत्सवको अवसर पारेर बराइलीलाई उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) ले अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदकबाट सम्मान गर्नुभएको हो । धनकुटाबाट पत्रकारिता सुरु गर्नुभएका बराइली निशान न्युज डटकमका सम्पादक हुनुहुन्छ ।

संस्थाले २०६७ देखि अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदक प्रदान गर्दै आएको छ । यसअघि पदमराज जोशी, दानदास श्रेष्ठ, ईश्वरकाजी खाइजु, अतुल मिश्र, नारायण किलम्बु, उद्धवराज भेटवाल र सन्तोषी अधिकारीलाई प्रदान गरिसकेको छ । त्यस्तै कर्ण शाक्यले क्यान्सर रोगबाट मृत्यु भएकी श्रीमति र छोरीको नामबाट २०५८ मा स्थापना गरेको सानु छोरी शाक्य स्मृति क्यान्सर सेवा पदकबाट रोहाणी वैद्य र डा. पुलस्वा जोशी लाखेलाई प्रदान गरेको छ । त्यसैगरी दुर्गाबहादुर श्रेष्ठ स्मृति उत्कृष्ट शाखा सभापति पदक सो संस्थाका कास्की सभापति रामचन्द्र थापाले पाउनुभएको छ । यो पुरस्कार संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) ले स्वर्गिय पिता दुर्गाबहादुर श्रेष्ठको स्मृतिमा २०५८ मा स्थापना गर्नुभएको हो ।

संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद बरालले स्वर्गिय माता गोमादेवी बरालको स्मृतिमा २०५९ मा स्थापना गरिएको गोमादेवी बराल स्मृति पदक रोटरी क्लव अफ वाग्मतिलाई प्रदान गरिएको छ । त्यसैगरी यो वर्षको पुष्पराज कर्णिकार रनिङ शिल्ड सिरहा शाखालाई प्रदान गरियो ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले पछिल्लो समयमा बढ्दै गएका विभिन्न रोगको रोकथाम गर्न सरकार क्रियाशील रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्