बाग्लुङ्गमा पहिरोले थुनिएर बनेको ताल खोल्न बिज्ञको टोली झिकाइँदै



अनिल खत्री, गुल्मी ।
बाग्लुङको बडिगाड खोलामा पहिरोले थुनिएर बनेको ताल फुटाउन बिज्ञ टोलीलाई झिकाइने भएको छ । मध्य पहाडी लोकमार्गको बडिगाड गाउँपालिका भिङगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमानाको तुरतुरेस्थित ठूलो र्भयाङमा शुक्रबार राति भीषण पहिरो खसेर ठूलो ताल बनेको छ ।

पहिरोले बनेको तालबाट शनिवार बिहान मात्रै ओभरफ्लो भएर बग्न थालेको थियो । तर, पहिरोले बनेको ताल कसरी खोल्ने भनेर बिज्ञ टोली आबश्यक परेको बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।
गृह मन्त्रालयको बिपद महासाखाका अनुरोध गरी सकेका छौं प्रमुख जिल्ला अधिकारी खरेलले भने, ‘चट्टानसहितको माटो खसेर ताल बनेकाले सजिलै ताल खोल्न नसकिने समस्या छ ।’

बलाष्टिङ्ग गरेर ताल खोल्दा एकै चोटी पानी बग्न सक्ने र माथिबाट थप पहिरो पनि खस्न सक्ने सम्भावना रहेकाले तत्कालै बिज्ञ टोलीको आवश्य रहेको बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी खरेलले बताए । बम बलाष्टिङ्ग गर्नको लागि पनि पोखरास्थित नेपाली सेनासँग समन्वय भैरहेको उनले बताए ।

काठमाडौंबाट आउने बिशेषज्ञ टोली र नेपाली सेनाको टोलिले अनुगमन तथा अध्यन गरेर मात्रै ताल खोल्ने काम गरिने प्रमुख जिल्ला अधिकारी खरेलको भनाइ छ ।

खोला थुनिएपछि अझैपनि त्यसभन्दा तलको तटीय क्षेत्र बाग्लुङ्गका भिङगिठे, खारा, खरबाङ्ग र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला, रिडीसम्मका बस्ती जोखिममा परेका छन् । एकैपटक ताल फुटे नदी किनारका बस्तीमा क्षतीको जोखिम छ । मध्य पहाडी लोकमार्ग भन्दा करिब ५ सय मिटर माथिबाट पहाडै खसेर अहिले लोकमार्ग नै अवरुद्ध छ । सडक खोल्न करिब एक हप्ता बढी समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी खरेलले बताए ।

तत्कालको लागि मान्छे हिँड्न सानो गोरेटो बाटो निर्माण गरिने खरेलले बताए । तत्काल सडक खोल्न समस्या छ,’ उनले भने, ‘सानो वजेटले नहुने हुँदा सडक डिभिजन कार्यालयसँग छलफल भैरहेको छ ।’
सडक अवरुद्ध भएसँगै बुर्तिबाङहुँदै वाहिर जाने यातायातका साधनहरु बन्द भएका छन् । बुर्तिबाङ निसी भूजि तमान क्षेत्रमा आउने यात्रुहरुलाईसमेत अर्को विकल्पको सडक नभएपछि दिनभर जसो भिमगिठेमै अलपत्र अवस्थामा छन् ।

केहीले भिमगिठे हुँदै मालारानी सिमलचौरको बाटो बुर्तिबाङसम्म पैदल आवत जावत गरेका छन् । पहिरोले छेकिएको भागको माथिल्लो स्थानबाट थुनिएको खोला खुलेको र अहिले पनि निरन्तर सोही भागबाट पानी बगिरहेको छ । तर, थुनिएको नदीले बनाएको पानीको ताल भने जस्ताको तस्तै छ । साविकको खोला मात्र सो स्थानबाट बगेको छ ।

पानीको बहाव पहिरो गएभन्दा माथि तर्फ बढ्दै जाँदा ढोरपाटन नगरपालिकाको वडा नं २ सिमलचौरमा रहेका देविराम कुमाल र कृष्णबहादुर कुमालको दुई तले घर गोठ, रामबहादुर कुमालको गोठ डुवानमा परेको छ । सोही स्थानमा चुडाबहादुर कुमालको गोठमा रहेका ३ वटा गोरु गोठमा बाँधेको अवस्थामा डुवेका छन् भने एउटा पोल्ट्री र्फमसमेत डुवानमा परेको छ ।

पहिरोले खाला थुनेपछि पहिरो गएको स्थानबाट करिब २ किलो मिटरसम्मको दूरीमासम्म ताल बनेको छ । ठूलो चट्टानसहितको पहिरोले पुरेका कारण एकैचोटी ताल नफुट्ला भन्ने अनुमान गरिएको प्रमुख जिलला अधिकारी खरेलले बताए । तटीय क्षेत्रमा सर्तकता अपनाउनु पर्ने अवस्थालाई भने सुरक्षा निकायले सबैलाई सचेत बनाइरहेको छ । नदि किनारमा रहेका सबै मानिसहरु सुरक्षित स्थानमा बस्न भनिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

उनले ताल कसरी खोल्ने बारेमा बाग्लुङ्गसँग समन्वय भइरहेको बताए । तालले गुल्मी क्षेत्र धेरै जोखिममा रहेकाले त्यसको उचित समाधानको लागि स्थलगत अध्ययन पनि गरिने गुल्मीका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्