व्यवसायीलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो: प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीलाई प्रोत्साहन गर्नु राज्यको दायित्व भएको बताएका छन् । उनले उद्योगी व्यवसायीलाई राज्यले जथाभावी ‘कस्न’ नहुने समेत बताएका छन् ।

बिहीबार काठमाडौँमा पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघ, काठमाडौंको आठौं वार्षिकोत्सव तथा पाँचौं अधिवेशन कार्यक्रमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राज्यको विकासमा दुईवटा मान्यता भएको बताए ।

राज्यले उद्योगी व्यवसायीलाई राष्ट्र सेवकको रुपमा कम र नाफाखोरीको रुपमा बढी हेर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई राज्यले प्रोत्साहित गर्नुपर्ने प्रचण्डले बताए । उनले भने, ‘उद्योगीलाई प्रोत्साहन नगरेसम्म राज्यको विकास हुँदैन । विकासका निम्ति चाहिने नीति नियम बनाउनुपर्छ त्यो आवश्यक छ तर उद्योगी व्यवासायीको मार्कालाई पनि बुझ्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले आफू जनतालाई स्वतन्त्रता दिएर बलियो बनाउने पक्षमा रहेको बताए । ‘जति स्वतन्त्रतालाई रोक्न सक्यो त्यति विकास हुन्छ भन्ने एउटा मान्यता छ’, उनले भने ‘अर्को मान्यता जनतालाई जति धेरै स्वतन्त्रता दिन सक्यो त्यति छिटो देशले विकास गर्छ भन्ने मान्यता छ ।’

विकासका लागि राज्यले सहजीकरणको भूमिका खेल्नुजर्ने भन्दै राज्यको भूमिकाले विकासको यात्रालाई गति प्रदान गर्ने बताए । अध्यक्ष प्रचण्डले उत्पादन वृद्धि गर्ने, व्यवसायमा लाग्ने र रोजगारी सिर्जना गर्नेहरुलाई प्रोत्साहित गर्ने, संरक्षण गर्ने राज्यको नीति नबनेसम्म आर्थिक विकास र समृद्धिको यात्रालाई तीव्रता दिने कुरा पनि सम्भव नभएको दावी गरे ।

प्रचण्डले अहिले उद्योगी व्यवासायी मर्कामा परेको गुनासो आइरहेको भन्दै यसबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने समेत बताए । राज्य नियन्त्रणकारी र दमनकारी भयो भने लक्ष्य पूरा नहुने भन्दै उनले यस विषयमा सरकारसँग कुरा गर्ने बताए ।

‘राज्यले उद्योग व्यवसायीलाई दुहुनु गाईजस्तो ठान्ने र हरेक पटक दुहीमात्र रहने, उनीहरुलाई प्रोत्साहित नगर्ने कल्चर हामीकहाँ लामो समयदेखि हुर्कदै आएको छ’, अध्यक्ष प्रभण्डले भने’, प्रत्यक टेबुलमा घुस खुवाउँनै पर्ने, भनसुन गर्ने पर्ने, पावर लगाउनै पर्ने त्यसो नभए कामै नहुने त्यो संस्कार जबसम्म अन्त्य हुँदैन तबसम्म हामीले आर्थिक विकास गर्न सक्दैनौ ।’

प्रतिक्रिया दिनुहोस्