कञ्चनपुरमा आज पनि प्रदर्शन जारी



काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शमा उत्रिएका स्थानीयले आज (बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । बिहानैदेखि प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । टायरले बालेर प्रदर्शन गरिरहेका कारण सडक अवरुद्ध छ ।

पन्तको वास्तविक हत्यारालाई स्थानीय प्रशासनले उम्काउन खोजेको प्रदर्शनकारीको दावि छ । बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो ।

प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केहीलाई नियन्त्रणमा पनि लिएको थियो । प्रदर्शनकारीले बुधबार बल प्रयोगको आदेश दिने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा तैनाथी बढाइएको छ ।

भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउनमा उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले साउन १० गते प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्