आधारभूत स्वास्थ्य सेवा निःशुल्कः उपप्रधानमन्त्री



काठमाडौँ, ।
ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा सहजता ल्याउने उद्देश्यले नेपाल–चीन हिमालयमैत्री समाजले विभिन्न पाँच जिल्लाका नगरपालिका तथा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गरेको छ ।

नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा खरिद गरिएका पाँच वटा एम्बुलेन्स क्रमशः मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोक, जुगल गाउँपालिका सिन्धुपाल्चोक, भीमेश्वर नगरपालिका दोलखा, खाँदबारी नगरपालिका संखुवासभा र निबुवाटारी सहकारी स्वास्थ्य केन्द्र मध्यनेपाल नगरपालिका ९लमजुङ० लाई हस्तान्तरण गरेको हो ।

समाजकोतर्फबाट आज यहाँ आयोजित एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालका लागि चिनियाँ राजदूत यु होङको उपस्थितिमा एम्बुलेन्सको साँचो सम्बन्धित निकायका प्रमुखलाई प्रदान गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री यादवले नेपालको सडक सञ्जाल, जलविद्युत्, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको पूर्वाधार विकासमा चीन सरकारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै स्वास्थ्य केन्द्र र अस्पतालको पहुँचबाट टाढा रहेका जनताका लागि एम्बुलेन्स उपयोगी हुने बताउनुभयो ।

उहाँले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबै जनताकाबीचमा पु¥याउने लक्ष्यका साथ सरकार अघि बढेको र त्यसका लागि यो वर्ष एक हजार २०० आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरी चिकित्सकलाई जनताको सेवामा समर्पित गराउने प्रक्रियामा लागिपरेको बताउनुभयो ।

उपप्रधानमन्त्री यादवका अनुसार १५ श्ययाका अस्पताल स्थानीय सरकारलाई, जिल्ला र क्षेत्रीय अस्पताल प्रदेशलाई र केन्द्रीय अस्पताल तथा प्रतिष्ठानलाई केन्द्र सरकार मातहत रहनेगरी नीतिगत प्रक्रिया अघि बढाइएको छ ।

“विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप नेपालमा सबै जनताको आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गराउन र स्वास्थ्यलाई सेवाको भावनाबाट अघि बढाउने प्रणालीको विकासका लागिपरेका छौँ । अब सरकारी अस्पतालका डाक्टरले निजी क्लिनिक धाउने वातावरणको अन्त्य गरी अतिरिक्त समयमा पनि जनतालाई सेवा दिनेगरी व्यवस्थापन गर्दैछौँ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य बीमा सेवाका माध्यमबाट सबै जनतालाई गुणात्मक उपचार पु¥याउने उद्देश्यले ७७ वटै जिल्लामा बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा लैजाने उपप्रधानमन्त्रीको भनाइ थियो ।

चिनियाँ राजदूत होङले चीन नेपालको महत्वपूर्ण विकास साझेदार भएको दुई देशबीचको जनस्तरको सम्बन्धलाई विकास र समृद्धिको दिशामा अघि बढाउन सहयोग र समन्वयात्मक भूमिका निर्वाह गरिने उल्लेख गर्नुभयो ।

नेपालको उत्तरी क्षेत्र भौगोलिक र सांस्कृतिक हिसाबले चीनसँग निकट रहेकाले सम्पर्क सञ्जाल, सडक, रेल्वे, जलविद्युत्, पर्यटन आदि क्षेत्रमा विकास साझेदारिता, सहयोग अभिवृद्धिको दायरालाई फराकिलो बनाएर लैजाने विश्वास दिलाउनुभयो ।

सांसद राजेन्द्र गौतमले ग्रामीण भेगका जनतालाई स्वास्थ्य केन्द्रको पहुँचमा सहजता ल्याउन एम्बुलेन्सले महत्वपूर्ण सहयोग पुग्नेछ भन्नुभयो । समाजका अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा पहुँच र सहजता प्रदान गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो ।

भीमेश्वर गाउँपालिकाका प्रमुख भरत केसी, जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठ, खादबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा र मध्य नेपाल नगरपालिकाका निमित्त प्रमुख चन्द्रमणि पौडेलले एम्बुलेन्सको अधिकतम सदूपयोग गरी जनताको स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्