महाकालीमा भारतले पुल बनाउन दिएन, स्थानीय अझै पनि जोखिमपुर्ण यात्रा गर्न बाध्य

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुंगे पूल निर्माण कार्य अघि बढ्न सकेको छैन् । पूल निर्माणका लागि ठेक्का सम्झौता भएको डेढ बर्ष भईसक्दा समेत भारतले सहमती नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलुंगे पूल निर्माण कार्य अघि नबढेको हो ।

महाकाली नदीमाथि झोलुंगे पूल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुसी भएका बैतडीको तल्लोस्वराड क्षेत्रका नागरिक निराश भएका छन् । पूल निर्माणका लागि ठेक्का सम्झौता भएको डेढ बर्ष भईसक्दा समेत पूल निर्माण कार्य अघि नबढेपछि स्थानीयबासी चिन्तित बनेका बिरेन्द्र महताले बताउनुभयो ।

भारतीय बजारमा आवतजावत गर्दा डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास गरेपनि पूल निर्माणको काम अहिले सम्म अघि नबढ्दा स्थानीयबासी निराश भएका हुन् उहाँले भन्नुभयो“डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने आशामा थियौ तर भारत सरकारको ढिलासुस्तीले चिन्ता बढाएकोे छ । ”

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको झोलुंगे पूल डिभिजनले भारतसंग सीमा जोडिएको महाकाली नदीमा तीनओटा पूल निर्माणका लागि गत बर्ष नै ठेक्का सम्झौता गरेको थियो । दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुंगे पूल निर्माणका लागि ठेक्का सम्झौता भएपनि पञ्चेश्वरमा बन्ने पुलको सहमती नदिँएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो“पूल बन्ने भनेर हर्षित यहाँका नागरिकमा निरासा छाएको छ । ”

दार्चुलाको लालीमा पूल निर्माण भईसकेको छ भने तिग्रममा पूल निर्माण कार्य जारी रहेको छ । पञ्चेश्वरमा पूल निर्माणका लागि भारतीय सरकारबाट सहमति नपाउँदा पूल निर्माणको काम सुरु हुन नसकेको निर्माणको जिम्मा पाएको खाम्पाचे शेर्पा निर्माण सेवा प्रा.लिले जनाएको छ । १ करोड ३३ लाखको लागतमा १२४ मिटर लामो पूल निर्माणको ठेक्का सम्झौता भएको हो ।

पञ्चेश्वरमा महाकाली नदीमाथि झोलुंगे पूल निर्माणका लागि भारतको केन्द्रिय सरकारबाट नो अब्जेक्सन लेटर पाएको भएपनि प्रान्तीय सरकारले असहमति जनाउदा पुल बन्न नसकेको हो ।
पञ्चेश्वरमा महाकाली नदीमाथि बन्ने भनिएको झोलुंगे पूल निर्माणका बिषयमा सम्बन्धित निर्माण कम्पनी र सरकारी कार्यालयसंग छलफल भएको भएपनि सहमती नदिएको बैतडी प्रदेश ख का सांसद लिलाधर भट्टले बताउनुभयो ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डुबान क्षेत्रमा पुल निर्माण हुने भन्दै भारतीय सरकारले सहमति नदिँएको उहाँले बताउनुभयो । अहिले पुल निर्माण गर्ने भनेर तोकिएको ठाउँभन्दा ३०० मिटर तल सर्वे गरेर सहमतिका लागि भारतीय सरकार समक्ष कागजात पठाएको छ उहाँले भन्नुभयो“भारतले नो अब्जेक्सन लेटर पठाए छिट्टै पुल निर्माण हुनेछ ” सीमा नदीमा पुल निर्माण गर्नुपर्ने भएकाले भारतको सहमति आवश्यक रहेको सांसद भट्टकोे भनाई रहेको छ ।

डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य

बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक महाकाली नदीमाथि पुल नहुँदा डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । हरेक बर्ष जस्तै यो बर्षातमा पनि स्थानीयहरु जोखिम मोलेर महाकाली नदीमा ओहोरदोहर गरिरहेका पञ्चेश्वरका स्थानिय मोहन चन्दले बताउनुभयो । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको महाकाली नदी किनारसंग जोडिएका बस्तीहरु जोखिम मोलेर महाकाली यात्रा गर्ने बाध्यतामा रहेका छन् उहाँले भन्नुभयो ।“ महाकाली नदीमा डुंगाको भरमा आवतजावत गर्नुपर्ने बर्षौंदेखिको बाध्यता रही आएको छ” औषधिमूलो देखि अन्य घरायसी समानका लागि भारतीय बजार धाउनुपर्ने र महाकाली नदीमा पानीकोबहाव बढेपछि जोखिम बढ्दै गएको हो ।

सरकारले तुइन भएका ठाउँमा तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गर्ने नीति लिएको भएपनि डुंगा विस्थापित गर्ने कुनै नीति नल्याएको तल्लोस्वराडबासीको गुनासो रहेको छ । महाकाली नदीमा पुल नहुँदा तल्लोसोराड क्षेत्रमा १० बढी घाटबाट स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । महाकाली नदीमा चल्ने डुंगाहरु पनि बर्षाको समयमा नदीमा पानीको वहाव बढ्ने बन्द हुने गरेका छन् ।

Skip This