डा. केसीको अनशन हालसम्मकै लामो, वार्ता अझै अनिश्चित



नेपाल समाचारपत्र, काठमाडौँ ।
डा.गोविन्द केसीको अनशनले नयाँ रेकर्ड कायम गरेको छ ।केसीको आमरण अनशनको २४ औं दिनमा प्रवेश गरेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

अहिलेसम्म बसेको अनशनमध्ये उनको यो अनशन सबैभन्दा लामो बनेको छ । उनले चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर १५ औँ पटकको गत १६ असारदेखि जुम्लामा अनशन शुरु गरेका कसीको माग भने अझैसम्म पनि सुनुवाई हुन सकेको छैन ।

यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला बसेको ११ औं अनशन २३ दिनसम्म चलेको थियो । त्यसअघि डा केसी पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला १० औं पटकको अनशनमा २२ दिनसम्म बसेका थिए ।

डा. केसीको स्वास्थ्य गम्भीर बनेको भन्दै सरकारले गत बिहीबार उनलाई जबरजस्ती काठमाडौं ल्याएको थियो । उनलाई काठमाडौं ल्याएको चार दिन बितेपनि अहिलेसम्म औपचारिक वार्ता हुन सकेको छैन ।

उनलाई अनसनको २० औं दिनमा काठमाडौं ल्याइएको हो । सरकारले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली बनाए पनि डा. केसीलाई काठमाडौं ल्याएदेखि वार्ता नै ठप्प भएको छ ।

सरकार उनले स्वतन्त्र निर्णय लिनसक्ने अवस्थामा नपुगेसम्म वार्ता नगर्ने अडानमा छ भने केसी माग पूरा नभए अनशन नतोड्ने अडानमा छन् । दुवै पक्ष एकअर्कालाई गलाउने रणनीतिमा लागेका छन् । डा. केसीले जबरजस्ती काठमाडौं ल्याएको भन्दै उपचारसमेत अस्वीकार गरेका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकहरूले बताएका छन् ।

डा केसीको मुटुको गति जतिबेला पनि बन्द हुन सक्ने चिकित्सकहरूले बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्