भरतपुर महानगरमा चक्रपथ निर्माण सुरु



कृष्ण आचार्य, चितवन ।
भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको रिङ रोड र लिंक रोडको शुक्रबार पटिहानीमा शिलान्यास गरिएको छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रिबन काटेर सो रोडको शिलान्यास गरेका हुन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले रिङरोड र लिंकरोड चितवन विकासको कडी भएको उल्लेख गरे । यस आयोजनामा विनियोजन भएको २ अर्ब बजेट पनि अघिल्लो सरकारकै पालामा भएको उनले जानकारी दिए । बजेटले चितवनलाई सम्बोधन गर्न नसकेपनि चितवन केन्द्र भागमा रहेकाले विभिन्न परियोजना मार्फत् सम्बोधन हुँदै जाने प्रचण्डले उल्लेख गरे । चितवनमा धेरै सम्भावना रहेकाले देशको आवश्यकता अनुसार पुर्वधार विकास हुने उनको भनाइ छ ।

रिङ रोडअन्र्तगत भरतपुर २२ घौलाघारी र भरतपुर ३ पुलचोक गरि दुई स्थानबाट निर्माण कार्य प्रारम्भ हुनेछ । भरतपुर महानगरपालिकाभित्र रिङरोडका लागि ९५ किलोमिटर कालोपत्रे गरिने छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख कुमारप्रसाद घिमिरेका अनुसार रिङ रोडको कालो पत्रेको चौडाई ७ मिटरको हुनेछ । रिङ रोड निर्माणका लागि पुरानो बाटोहरुलाई नै समावेश गरिएको भए पनि त्यस बाहेक ८ किलोमिटर नयाँ स्थानबाट बाटो विस्तार हुनेछ । २ वर्ष्भित्र निर्माण सम्पन्न गरी सक्नुपर्ने सम्झौता छ ।

नेपाल सरकारको वैदेशिक ऋणबाट महानगरमा निर्माण गरिने यो आयोजना विसं २०७७ साल असार मसान्तसम्ममासम्पन्न हुने बताइएको छ । यसमध्ये अधिकांश योजना ठेक्कामा लगाई सकिएको छ भने केही ठेक्का प्रक्रियामा रहेका छन् । शहरी विकासले बजेट विनियोजन गरेको भरतपुर महानगर क्षेत्र चितवन क्षेत्र नं ३ पर्दछ । यो पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल निर्वा्चित क्षेत्र हो ।

शहरी विकास मन्त्रालयमार्फत सञ्चालन हुन लागेका योजनाहरुमा अधिकांशतः सडक कालोपत्रे गर्ने रहेका छन् । यसअघि भएका नगरसभामा सबैभन्दा बढी रिङरोडलाई प्राथमिकतामा राखिएको थियो । महानगरले तयार पारेको रिङरोड पुलचोकबाट नारायणी तिरैतिर गोलाघाटसम्म पुग्छ र यता गोन्द्राङबाट जंगलको किनारैकिनार पटिहानी जगतपुर हुँदै गोलाघाटमै गएर ठोक्किन्छ । त्यसका अतिरिक्त अत्याधुनिक सिटी हल निर्माण, देवघाटमा शवदाह स्थल, बसपार्क सुधार, मन्दिर संरक्षण, रानीपोखरी व्यवस्थापन र भरतपुर अस्पतालमा कुरुवा घर निर्माण रहेका छन् । भरतपुर महानगरकी प्रमुख रेणु दाहालका अनुसार दुई अर्ब रुपैयाँ बराबरको रिङरोड र लिंकरोड ठेक्का लागिसकेको छ भने अन्य ठेक्का प्रक्रियामा रहेको छ । सो बजेटबाट ५९ किलोमिटर सडक कालोपत्र गरिँदै छ ।

त्यसैगरी, सिटी हल निर्माणका लागि रु ५० करोड बजेट शहरी विकास तथा भवन निर्माण विभागले छुट्याएको छ । भरतपुर महानगरपालिका–१८ को रानीपोखरी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, वडा नं ६ को लक्ष्मीनारायण मन्दिरलाई व्यवस्थापन गर्न र ९ नं वडामा रहेको केन्द्रीय बस टर्मिनल मर्मत सम्भारका लागि रु ४५ करोड सो विभागले विनियोजन गरेको छ ।

यसैगरी, भरतपुर अस्पतालको कुरुवाघर निर्माणका लागि सात करोड ५० लाख र देवघाटमा शवदाह स्थल निर्माणका लागि १७ करोड रुपैयाँ विनियोजन भएको दाहालले बताए । सिटी हलको जग्गा टुङ्गो लागि नसकेकाले आगामी आर्थिक वर्षमा काम हुने भए पनि अन्य सबै काम यसै आर्थिक वर्षदेखि सुरु हुने दाहाल बताए । उनले भनिन्, ’हाम्रो महानगरको विकास बजेटभन्दा बढी शहरी विकासले बजेट दिएको छ ।’ भरतपुर महानगरको आउँदो वर्षको पूँजीगत बजेट रु एक अर्ब ६२ करोड ५६ लाख मात्रै रहेको छ । महानगरको कुल बजेटमा तीन अर्ब ३४ करोडको ४८ दशमलब ६६ प्रतिशत मात्र पूँजीगत खर्च रहेको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनका प्रमुख घिमिरेले सघन शहरी विकास कार्यक्रमअन्तर्गत विभागले भरतपुर महानगरमा विकास निर्माणका विभिन्न काम गर्न लागेको बताए । उनका अनुसार भारतसँग सीमा जोडिएका भद्रपुरदेखि धनगढीसम्मका २१ सदरमुकामका शहरमा विभागले काम थालेको छ ।

प्रतिक्रिया दिनुहोस्