वालिङमा नीजि क्षेत्रबाट खुल्यो अस्पताल



अमृत अर्याल, स्याङजा ।
स्याङ्जाको वालिङ ९ भकुण्डे ठाडो लाईनमा नवनिर्मित वालिङ हस्पिटल प्रालिले बुधबारबाट आफ्नो सेवा सुरु गरेको छ । वालिङ हस्पिटल प्रालिले निशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरी सेवा सुरुवात गरेको हो ।

वालिङ हस्पिटल प्रालिको बुधबार वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले एक कार्यक्रमकाबीच उद्घाटन गर्दै अस्पताल निक्कै संवेदनशील र अत्यावश्यक भएको बताउँदै सावधानीकासाथ सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य सेवाग्राहीहरुलाई छिटो छरितो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिई यस क्षेत्रका सर्वसाधारणलाई स्वस्थ बनाउन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

वालिङका सयौं सर्वसाधारण स्वास्थ्य उपचारका लागि दिनहुँ पोखरा, पाल्पा लगायतका अन्य जिल्लामा जाने प्रबृत्ति छ यसको अन्त्य गर्नका लागि हस्पिटलले गुणस्तरीय स्वास्थ्य सेवा दिई मन जित्न सुझाव दिंदै वालिङ नगरपालिकाले उचित सहयोग गर्ने धारणा ब्यक्त गर्नुभयो ।

उद्घाटन समारोहमा वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख भोजराज अर्याल, जिल्ला विकास समितिका पूर्व उपसभापति लक्ष्मीपति पौडेल, नेकपाका राजेन्द्र डुम्रे, नेपाली काँग्रेसका नगर सचिव भुपराज बगाले, राष्ट्रिय जनमोर्चाका राजेन्द्रप्रसाद गैह्रे, जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख डा. अमृत पोख्रेल, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, वालिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पुण्यप्रसाद अर्याल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, वालिङ वडा नं. ९ का अध्यक्ष बसन्तकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

वालिङ तथा आसपासका ९३ जना शेयर सदस्यहरुको लगानीमा सञ्चालन गरिएको उक्त हस्पिटलबाट वालिङ नगरपालिकासहित गल्याङ, चापाकोट, भीरकोट र दक्षिण पर्वतका केही गाउँपालिकाका सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा दिने लक्ष्य हस्पिटलले राखेको छ ।

संस्थाका सदस्य सुरेशप्रसाद गैह्रेको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह वालिङ हस्पिटल प्रालिका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव खगेन्द्रप्रसाद अर्यालले गरेका थिए । यसैबीच बुधबार भएको निशुल्क स्वास्थ्य परीक्षण शिविरमा विभिन्न रोगका कूल ६०० जना बिरामीले सेवा लिएका थिए भने उनीहरुलाई निशुल्क औषधीसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्