धनगढी उपमहानगरपालिकाको बजेट पारित

0
Shares

धनगढी ।
धनगढी उपमहानगरपालिकाको नगरसभाबाट आर्थिक २०७५÷७६ का लागि रु एक अर्ब ७९ करोड ३४ लाख बजेट पारित भएको छ ।

यही असार १० गते बसेको तेस्रो नगरसभा बैठकमा बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । आज बसेको नगरसभामा नगर प्रमुख नृपबहादुर बडूले कुल बजेटमध्ये चालुतर्फ रु ८० करोड ४९ लाख र पूँजीगततर्फ रु ९८ करोड ८५ लाख रहेको जानकारी दिनुभयो ।

चालु खर्चमा समाजिक सुरक्षा कार्यक्रमका लागि रु १६ करोडसमेत समावेश गरिएकाले खर्च बढी देखिन आएको बडूले बताउनुभयो ।

बजेट नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण तथा व्यावसायिकीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधि तथा सञ्चार विकास, उद्यम र सहकारिताको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा विशेष जोड, सामुदायिक वनको संरक्षण तथा व्यवस्थापन र प्राकृतिक विपद् व्यवस्थापनलाई प्राथमिकतामा दिइएको छ ।

त्यसैगरी भादगाउँ होमस्टे कार्यक्रम र थारु संग्रहालयलाई थप प्रवद्र्धन गर्दै अघि बढ्ने, धनगढी विमानस्थलको आगमन स्थलमा स्वागतद्वार निर्माण गर्ने, नयाँ बस बिसौनी निर्माणका लागि सार्वजनिक निजी–साझेदारी ऐनअनुसार जानेलगायत कामलाई समेत प्राथमिकतामा राखिएको छ ।

नगरसभामा प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिकालाई प्रदेशको नमूना नगर बनाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । देश नयाँ परिस्थितिमा गएको अवस्थामा विकास र समृद्धिका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको मुख्यमन्त्रीले बताउनुभयो ।

नगर प्रमुख बडूले प्रस्तुत बजेट नीति कार्यक्रममाथि प्रकाश पार्दै नगरको विकासको काममा आफू पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस