डा. देवकोटाको स्वास्थ्य अवस्था स्थिर, मिराकल परिवर्तनका लागि भावना साटासाट



भगवती तिमल्सिना, काठमाडौं

चिकित्सा विज्ञानका क्षेत्रमा परिचित नाम हो नेपालका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा। यो नाम लिँदा पनि भगवान सम्झने बिरामीहरू आज उहाँको स्वास्थ्यमा देखा परेको समस्याप्रति उत्तिकै चिन्तित छन्। देवकोटा परिवार, चिकित्सक, विद्यार्थी, बिरामी, स्वास्थ्यकर्मी तथा सर्वसाधारण व्यक्तिहरू मात्र नभै राज्यका उच्च पदस्थ व्यक्तित्वहरूले समेत उहाँको स्वास्थ्यमा मिराकल परिवर्तनका लागि भावना साटासाट गरिरहेका छन्।

बिगत ६ महिनादेखि पित्तनलीको क्यान्सरको उपचार गराइरहनुभएका डा. देवकोटा यतिबेला निकै कठीन अवस्थामा न्युरो अस्पताल बासबारीमा सघन उपचार कक्ष (आईसीयू) मा संघर्ष गरिरहनुभएको छ। बिरामीका लागि अहोरात्र जीवन दिनुभएका डा. देवकोटाको उपचारका लागि चिकित्सा विज्ञानका क्षेत्रमा उपलब्ध भएसम्मको प्रयास नभएका हैनन्।

यहाँ कुनै औषधिको अभाव, चिकित्सकको अभाव, पैसाको अभाव केही होइन मात्र डा. देवकोटाको शरीरमा लागेको रोगसँग लड्न सक्ने क्षमता मात्र अभाव भएको छ। उहाँको आत्मबलमा कुनै कमी आएको छैन। तर रोग बलियो हुँदै गएको छ भने उहाँको शरीर रोगसँग लड्दालड्दै सिथिल हुँदै गएको छ। यही कारणले यतिबेला उहाँको मृगौलाले समेत राम्रोसँग काम गर्न सकेको छैन। उपचारमा संलग्न चिकित्सकहरूलाई दिन प्रतिदिन डा. देवकोटाको अवस्थाले निकै चिन्तित बनाएको छ। यतिबेला उहाँको स्वास्थ्य अवस्था निकै जटिल बनेको छ।

क्यान्सर रोग आफैंमा जटिल रोग भएको र यसको असर पूरै शरीरमा पर्ने भएकाले शरीरका अन्य अंगमा असर गरेको छ। केही समय उहाँलाई आयुर्वेदिक उपचार अपनाइएको भए पनि अहिले आर्युवेदिक उपचारबाट खासै परिवर्तन नभएको र थप समस्याहरू देखा पर्दै गएकाले यलोपेथिक औषधिकै माध्यमबाट उपचार भइरहेको न्युरो अस्पतालका प्रशासन प्रमुख तथा डा. देवकोटाका भतिजा बसन्त देवकोटाले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।

उहाँ भन्नुुहुन्छ– ‘शरीरमा रोगले आक्रमण गरेपछि कहिले डाइरिया हुन्छ, कहिले स्वास फेर्न गाह्रो हुन्छ, पेट, टाउको, नसा त्यही शरीरको अंग भएकाले दिन प्रतिदिन कमजोर शरीरलाई दुःख दिइरहन्छ। त्यसैले यतिबेला बेसिक सपोर्टिभ उपचार गरिरहेका छौं, स्वास्थ्य अवस्था स्थिर छ।’
डा.देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा आधिकारिक जानकारी नै नलिई सामाजिक सञ्जाल तथा केही अनलाइनहरूले फैलाएको भ्रम चिर्न अस्पताल र परिवारका तर्फबाट तत्काल उहाँलाई घाममा निकाल्ने र विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था सृजना भएको थियो। संवेदशील विषयमा यति हतारिएर भ्रम फैलाउनुअघि अस्पतालको सूचनालाई आधिकारिक मान्नसमेत आग्रह गरिएको छ। उहाँको पित्त थैलीको क्यान्सरका कारण फैलिएको टक्सिन नियन्त्रण नभै फैलिनुनै शरीरका अन्य अंगहरूमा पनि क्षति पु¥याउनुको मूल कारण भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
डा.देवकोटा परिवारले मात्र नभई उपचारमा संलग्न चिकित्सकहरूले समेत उहाँको स्वास्थ्यमा आएका समस्याका कारण आफूहरू दुःखी भए पनि बिरामीका अगाडि हसिलो अनुहार र सहजता देखाउँदा आत्मबल बढाउन सकिने विश्वासका साथ उहाँकै चाहनाअनुरूप बेलायतबाट उहाँकै नेतृत्वमा स्थापित न्युरो अस्पताल ल्याई १ महिनादेखि उपचार शुरू गरिएको छ। यतिमात्र नभै उहाँकै इच्छाअनुसार शनिबार पुख्र्यौली घर गोरखा पु¥याई मूलको पानी खुवाउने, घरमा आराम गराउने, हातगोडा धुनेजस्ता कार्य पूरा गरी पुनः न्युरो अस्पतालमै सघन उपचार कक्षमा उपचार गराइएको छ।

 

प्रतिक्रिया दिनुहोस्