गरौं योग, रहौं निरोग



नेपाल समाचारपत्र
काठमाडौं
धुलिखेल योग साधना केन्द्रले स्वस्थ्यताका लागि विद्यार्थीहरूलाई योग सिकाउनु जरुरी भएको भन्दै योग दिवसको अवसर पारी धुलिखेलका ६ वटा विद्यालयका विद्यार्थीहरूलाई एकदिवसीय योग प्रशिक्षण दिएको छ। विद्यालय स्तरीय योग शिक्षा कार्यक्रममा योग र शिक्षाको अन्तरसम्बन्धका बारेमा जिल्ला समन्वय समिति काभ्रेका समन्वय अधिकारी कोमलप्रसाद धमलाले नियमित योग गर्नाले स्वास्थ्यमा सुधार आउनुका साथै स्मरणशक्ति बढ्नेसमेत हुन्छ भन्नुभयो।

उहाँले आफूले ९ वर्षदेखि नियमित योग गर्दै आएको र अहिलेसम्म कुनै प्रकारको बिरामी पनि नपरेको र रिस, निराशाजस्ता कुरा नआउने र सकारात्मक सोचको विकास भएको बताउनुभयो।
धमलाले विश्वले नै योगलाई उच्च प्राथमिकतामा राखेको अवस्थामा नेपालमा पनि विद्यालय, कलेजमा समेत पाठ्यक्रममा नै समावेश गर्ने गरी आगामी दिनमा योगले स्थान पाउने आफूले विश्वास लिएको बताउनुभयो। योगले सहज जीवनशैली जिउन र स्वास्थ्यका लागि अत्यन्तै फलदायी हुन्छ, भन्नुभयो। धुलिखेल योग साधना केन्द्रका नगर संयोजक राजु श्रेष्ठले विद्यार्थीको जीवनलाई सहज र तेजिलो बनाउन हरेक दिन योगको खाँचो छ भन्नुभयो।

सोही अवसरमा पतञ्जली योग समितिका ३ नम्बर प्रदेशका अध्यक्ष ग्रोबेन तौजलेले विद्यालय स्तरका बालबालिकालाई योग सिकाउनाले खानपान, रहनसहन, बानीव्यहोरामा समेत सकारात्मक सोचको विकास हुनुका साथै घरपरिवारका सदस्याको स्वास्थ्यमा समेत ध्यान दिने कुरा आंैल्याउनुभयो।

कार्यक्रममा धुलिखेल नगरपालिका क्षेत्रका सञ्जीवनी उच्च माध्यमिक विद्यालय, काठमाडांै विश्वविद्यालय हाइस्कुल, पूर्णसञ्जीवनी उच्चमावि, इम्यान्युयल बोर्डिङ स्कुल, सञ्जीवनी इंग्लिस स्कुल, र माउण्टभ्यु इंग्लिस स्कुलका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
सहभागी विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि धमला र तौजलेले कदरपत्र प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्