गुण्डाका नाइके लामामाथि गोली प्रहार



काठमाडौं, (नेस)
गुण्डा नाइके अशोक लामालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। ललितपुर भैंसेपाटी क्षेत्रमा गुण्डागर्दी मच्चाएको आरोपमा लामालाई प्रहरीले गोली प्रहार गरी ललितपुर युएन पार्कबाट नियन्त्रणमा लिएको हो। लामाको खोजीका क्रममा प्रहरी टोली पुगेको र उल्टै प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

घटनास्थलबाट पेस्तोल र दुई राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ। भैंसेपाटी एरियाका प्लटिङ व्यापारीसँग जबरजस्ती रकम असुल गर्ने, क्रसर व्यापारीसँग रकम असुल गर्ने र निर्माण व्यवसायीहरूलाई फोन धम्की दिई पैसा माग्नेजस्ता विभिन्न उजुरी महाशाखामा आएपछि प्रहरीले लामाको खोजी कार्य तीव्र पारेको थियो।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले लामालाई खोजतलास गर्दा ललितपुरको युएन पार्कनजिक ३÷४ जनाको समूहमा रहेको फेला पारेको थियो। खानतलासी गर्न खोज्दा फायर गरेपछि आत्मरक्षास्वरूप प्रहरीले एक राउन्ड फायर गर्दा लामाको दाहिने खुट्टामा गोली लागेको थियो। घाइते लामाको वीर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्