नेपाल समाचारपत्र
लमजुङ । लमजुङमा बर्षौसम्म पुल निर्माण अलपत्र पारेर बसेका दुई निर्माण कम्पनीले सरकारको चेतावनीसँगै काम सुरु गरेका छन् । समयमा निर्माण कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने सरकारको उदघोषसँगै उनीहरू पुल निर्माण कार्य अघि बढाएका हुन् ।
सरकरको चेतावनीपछि निर्माण सुरु गरेको सात वर्षसम्म सम्पन्न नगरी बेवारिसे बनाइएको बेसीशहर– ११ र दोर्दी– ४ जोड्ने दोर्दीखोलामा निर्माण थालिएको मोटरेवलपुलको निर्माण थालिएको छ । यसैगरी, रागिनास नगरपालिका– २ को बोराङखोला बनाउन थालिएको पुल निर्माण अलपत्र छाडेर हिँडेका निर्माण कम्पनी पनि काममा फर्किएको छ ।
दोर्दीखोलामा पुल बनाउने ठेक्का लिएको सपना–जयबाबा जेभीले काम अलपत्र पारेको हो । स्थानीयबासी, स्थानीय तह, सांसद्हरू तथा डिभिजन सडक कार्यालयको पटक पटकको अनुरोधलाई लत्याउँदै आएको ठेकेदार कम्पनीको नाकमा यतिबेला भने नत्थी लागेको झैँ भएको पुल निर्माणको काम देख्न थालेका स्थानीयबासीले बताएका छन् ।
०६८ चैतमा शिलान्यास गरिएको दोर्दी खोलाको उक्त पुल २०७० असारमा निर्माण सम्पन्न गर्नु पर्ने सम्झौता थियो । तर ०७५ असार लाग्न लाग्दा पनि पुलको आधा काम पनि भएको थिएन । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले समयमा निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएपछि निर्माणको जिम्मा लिएको निर्माण कम्पनी सपना–जयबाबा जेभी कार्यस्थलमा देखिन थालेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङले खोज्न थालेको सुइको पाएपछि उक्त कम्पनीले निर्माण कार्य अघि बढाउन थालेको हो ।
‘हामीले कारबाहीका लागि प्रक्रिया अघि बढाएका थियौँ, उहाँहरू (ठेकेदर कम्पनी) काम गर्न थाल्नुभयो’, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनु भयो । उहाँका अनुसार अब निर्माणको कामलाई निरन्तरता दिएर पुल सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्, त्यसैले ठेक्का रद्दगर्न लागिएन ।
दोर्दी खोलामा हालसम्म ३ वटा पिलर, एकातर्फ केही ‘सपोर्टिङ वाल’ र एक तिहाइ भागमा ट्रस राखेर ढलान गरिएको छ । करिब ४ करोड रुपैयाँ लागत रहेको उक्त पुलको लम्बाइ ७५ मिटर र ६ दशमलव २५ मिटर चौडाइको रहेको छ ।
दोर्दीखोलामा उक्त पुल समयमा नबन्दा दोर्दी करिडोरमा निर्माणाधिन चारवटा जलविद्युत् आयोजनाको निर्माणकार्य समेत प्रभावित भएको अवस्था छ ।
पुलको अभावका कारण जलविद्युतका निर्माण सामग्री भित्र्याउन समस्या परेको आयोजनाका सुपरदार्दी पावर कम्पनीका अध्यक्ष इजन बरालले बताउनु भयो ।
उक्त पुल नबन्दा निर्माणाधीन आयोजनामा मात्रै नभएर सिङ्गै गाउँपालिकाका बासिन्दा समस्यामा परेको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार दोर्दी खोलामा पुल नबन्दा दोर्दी क्षेत्रका नौथर, पाचोक, गौंडा, ढोडेनी, फलेनीलगायतका स्थानीयलाई आवतजावत, खाद्यान्न ढुवानी लगायतमा काममा समस्या आइ पर्ने गरेको छ ।
उता रागिनास नगरपालिका– २ को बोराङखोला निर्माण थालिएको पुल पनि अलपत्र छाडेर हिँडेका निर्माण कम्पनी अधिकारी निर्माण सेवा, गोरखा पनि काममा फर्किएको छ । गत आर्थिक वर्षको असारमा काम सक्नेगरी ठेक्का लिएको निर्माण कम्पनीले काम छोडेर हिँडेको सोही वडाका अध्यक्ष रामचन्द्र अधिकारीले बताउनु भयो । उहाँका अनुसार ऐले केही दिन देखि काम चालु भएको छ । ठेकेदारले अब काम नसकी भाग्दिन भनेका छन् वडाध्यक्ष अधिकारीले भन्नुभयो ।
प्रजिअ ढकालले ‘अधिकारीले पनि प्रशासनमै आएर काम गर्ने प्रतिबद्धताको कागज गरेर काममा फर्किएका हुन्’, भन्नुभयो । उहाँले थप्नु भयो, ‘यही असारमा काम सक्छु भनेका छन्, प्रतिवद्धता अनुसार काम नभए कारबाही गर्ने त छदैछ ।’











प्रतिक्रिया