नवरत्न टोलीलाई थिमीमा सम्मान


नेपाल समाचारपत्र
काठमाडौं
बंगलादेशको ढाकामा आयोजित एसक्यूसीसीको २१औं अन्तर्राष्ट्रिय सम्मेलनमा उत्कृष्ट पुरस्कार जित्ने विद्यार्थीलाई मध्यपुर थिमीमा सम्मान गरिएको छ।

नवरत्न स्कुलले एक समारोहका बीच ती विद्यार्थीलाई सम्मान गरेको हो। सम्मानित हुनेमा जेनी मानन्धर, सुमन श्रेष्ठ, सर्सिज श्रेष्ठ, अन्सु श्रेष्ठ, लसता मानन्धर, जिज्ञासा श्रेष्ठ र स्वन्ति श्रेष्ठ रहेका छन्।

वैशाख २० देखि २३ गतेसम्म भएको सम्मेलनमा भारत, पाकिस्तान, अमेरिका, दक्षिण अफ्रिका, बेलायत, श्रीलंकालगायत ९ वटा देशका २० भन्दा बढी स्कुलले भाग लिएका थिए। तीमध्ये स्टुडेन्ट क्वालिटी कन्ट्रोल सर्कल २०१८ का ३ फरक विधामा नवरत्नका विद्यार्थी उत्कृष्ट भएका थिए।

५ फरक विधामध्ये कोलाज, क्विज कन्टेस्ट तथा केस स्टडी एन्ड प्रेजेन्टेसनमा उत्कृष्ट भएर नेपाल र नेपालीको इज्जत राखेको स्कुलका प्रिन्सिपल सुरेन्द्र श्रेष्ठले बताउनुभयो। नवरत्न स्कुलबाट ९ जनाको टोलीलाई नेतृत्व गर्दै श्रेष्ठ बंगलादेश पुग्नुभएको थियो।
त्यस्तै, कार्यक्रममा टिन एम्बासेडर २०१८ सर्सिज श्रेष्ठ, नइ देरुनिख बाल पुरस्कार विजेता स्वन्ति श्रेष्ठ तथा नइ कोपिला पुरस्कार विजेता सगुन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।

प्रदेश ३ का सांसद राजेन्द्रमान श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरमा नेपालको शान बढाएकामा विद्यार्थीलाई धन्यवाद दिँदै थप प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो।