कांग्रेस जिल्ला सभापतिको भेला असार ५ देखि


नेपाल समाचारपत्र
काठमाडौं
पाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेला असारको पहिलो साता हुने भएको छ। मकवानपुरको हेटौंडामा हुने सभापतिहरूको भेला पार्टी विधान संशोधनको मस्यौदा तयार पार्नुका साथै पार्टीको संगठनात्मक संरचना, सदस्यताको प्रकृति, पार्टीभित्रको निर्वाचन प्रणाली, मूल्यांकन पद्धति र संगठनात्मक व्यवस्थासम्बन्धी ठोस प्रस्ताव तयार पार्न केन्द्रित हुने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार जिल्ला सभापतिहरूको भेला असार ५ देखि ७ गतेसम्म ३ दिन सञ्चालन गर्ने मिति तय भएको छ। यसअघि कांग्रेस केन्द्रीय समितिले जिल्ला सभापति भेला एवं गाउँ र नगरपालिका तहसम्मको पार्टीको सांगठनिक संरचना तथा भ्रातृ र शुभेच्छुक संस्थामार्फत रायसुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यको तयारी गरी २०७५ भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो।

जिल्ला सभापतिहरूको भेलाले तयार पारेको उक्त प्रस्ताव केन्द्रीय समिति र महासमिति बैठकमा लैजाने बताइएको छ। कांग्रेस केन्द्रीय समिति बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरिसकेको छ भने यसअघि जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आयोजना तयारी बैठकले काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यको संयोजकत्वमा गठित विधान परिमार्जन प्रस्ताव समिति गठन गरेको थियो। यो समितिमा धादिङ, सिन्धुली, पाँचथर र कालिकोटका जिल्ला सभापति सदस्य रहेका छन्। यो समितिमा प्रत्येक प्रदेशको सहभागिता हुने गरी सदस्य थप गरी विधान परिमार्जन गर्नुपर्ने विषयको तयारी गरिएको छ।

स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनःसंरचनामुताविक पार्टीको पुनःसंरचना गर्न पार्टीको विधानमा समयानूकल परिमार्जन गर्ने केन्द्रीय समितिको निर्णयअनुसार जिल्ला सभापतिहरूको भेला विधानमा केन्द्रित हुन लागेको हो। जिल्ला सभापतिहरूले विधान संशोधनका लागि सुझाव मात्र दिन सक्छन्। विधान संशोधनको निर्णय भने महासमिति बैठकले मात्र गर्न सक्छ।

अहिले हुन लागेको कांग्रेस जिल्ला सभापतिहरूको राष्ट्रिय भेला चौथो हो। पहिलो भेला काठमाडौंमै भएको थियो भने दोस्रो भेला काभ्रेको धुलिखेलमा भएको थियो। तेस्रो भेला सिन्धुपाल्चोकमा आयोजना गरिएको थियो। यो चौथो भेला नुवाकोटमा गर्ने जिल्ला सभापतिहरूले प्रस्ताव गरेका थिए। तर केन्द्रीय कार्यालयले मकवानपुरको हेटौंडामा भेला गर्ने निर्णय गरेको हो। जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाको एजेन्डाबारे नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसी भन्नुहुन्छ-‘पहिलो एजेन्डा कांग्रेसले स्थानीय, प्रान्तीय र संघीय तीनै तहको निर्वाचनमा लज्जासपद् पराजय भोग्नुपरेको कारण के हो? र नेतृत्व कहाँ(कहाँ चुक्यो भनेर केलाउने हो। दोस्रो एजेन्डा संघीय संरचनाअनुसार विधान संशोधन र सांगठानिक संरचनाको बारेमा सुझाव दिने हो। आम जनताले कांग्रेसको विचारलाई अनुमोदन गरे पनि नेतृत्वमा नल्याएको भन्दै सभापति केसी भन्नुहुन्छ-‘यसबारेमा पनि सूक्ष्म ढंगले विश्लेषण हुन्छ।

जिल्ला सभापतिहरूको भेलामा यसअघि केन्द्रले निरंकुशता लाद्दै जिल्ला सभापतिहरूलाई भूमिकाविहीन बनाएको बारेमा पनि बृहत् छलफल हुनेछ। स्थानीय निर्वाचनमा केन्द्रले विधानविपरीत जिल्ला सभापतिलाई भूमिकाविहीन बनाएको भन्दै राष्ट्रिय भेलाले पार्टीभित्रको निरंकुशता तोड्नेबारेमा पनि छलफल गर्ने केसी बताउनुहुन्छ।