सिन्डिकेट अन्त्य गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं, (नेस)
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सबै किसिमका सिन्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई निर्देशन दिनुभएको छ।

आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट विभिन्न प्रदेशको प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पाउनुभएका डीआईजीहरूलाई मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्रीले अब कुनै किसिमको सिन्डिकेट सरकारलाई स्वीकार्य नहुने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘यतायात क्षेत्रको सिन्डिकेट अन्त्यको प्रक्रियामा छ। अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्ममा रहेको सिन्डिकेट अन्त्य गर्न जरुरी छ। तपाईंहरूले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ती सबै किसिमका सिन्डिकेट हटाउनुहोस्।’

उहाँले भ्रष्टचार र तस्करीलाई निस्तेज पार्ने गरी काम गर्नसमेत प्रहरी अधिकारीहरूलाई निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो– ‘गृहमन्त्रालयले तपाईंहरूलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ, सबै जिम्मेवारी आफैंमा महत्वपूर्ण छन्। हाम्रो अपेक्षा र विश्वास तपाईंहरूले पुरा गर्नुहुनेछ।’

सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै त्यसका लागि सुशासान कायम गर्नु पहिलो शर्त रहेको गृहमन्त्रीको भनाइ छ। उहाँले भन्नुभयो– ‘त्यो सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी गृह मन्त्रालयको हो र त्यसमा पनि सुरक्षा निकायको प्रमुख जिम्मेवारी हो।’

प्राकृतिक स्रोत र साधनको दोहन भइरहेको भन्दै आफ्नो प्रदेशमा तत्काल त्यो रोक्न पनि प्रदेश प्रहरी प्रमुखलाई उहाँले निर्देशन दिनुभयो। यस्तै अशान्ति र अस्थिरता फैलाउने विरुद्ध कडा रूपमा प्रस्तुत हुन समेत प्रहरी अधिकारीहरूलाई उहाँले निर्देशन दिनुभयो।

निर्देशनको क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो।