नगर व्यवस्थित कहिले होला ?



काठमाडौं महानगरसँग जोडिएको नगरपालिकामध्ये नागार्जुन नगरपालिका पनि एक हो। सो नगरपालिकाभित्र बसोबास गर्ने एक नागरिकको हैसियतले मलाई हिजो बिहीबार नेपाल समाचारपत्रमा प्रकाशित वडा नं. ६ का वडाध्यक्ष राजेन्द्र बुढाथोकीको अन्तरवार्ता पढेपछि केही टिप्पणी गर्न मन लाग्यो।

नगरपालिकाले नमुना पर्यटकीय गन्तव्य बनाउने योजना गर्नु नराम्रो कुरा होइन। तर यस नगरपालिकाका जनप्रतिनिधिहरूले जनताले अनुभूत गर्ने गरी एक वर्षमा के–के काम गरेका छन् भन्ने कुरा कसैलाई थाहा छैन। हामीले बाहिरबाट हेर्दा भीमढुंगासम्मको ६ किमि सडकको दुरावस्था, स्वीजरल्यान्ड पार्कसम्म जाने मुख्य बाटो हो भन्दा पनि लाज लाग्ने अवस्था छ।

सीतापाइलामा हुने सार्वजनिक बसको सिन्डिकेटको मारमा सबैभन्दा बढी यो क्षेत्रका बासिन्दा परेका छन्। अफिस टाइममा यात्रा गर्नेहरूलाई सिन्डिकेटको कारण ढिलो गरेर आलोपालोमा बस चल्नु, विद्यार्थी बोक्न जानुपर्ने भन्दै बसपार्कसम्म नगई सीतापाइलामा नै यात्रुहरू ओराल्नु त्यो क्षेत्रको दैनिकी हो। फस्कु क्षेत्रमा पानी पर्दा हिलोको कारण घन्टौं जाम पर्ने समस्या यथावत् छ। वैकल्पिक बाटो पनि पूरै गाडी बन्द गरेर निर्माण कार्य हुँदा अवरुद्ध छ।

वडाध्यक्ष बुढाथोकीलाई नमुना पर्यटकीय क्षेत्र लागेको ह्वाइट गुम्बामुनिको जंगललाई प्रत्येक दिन डोजरले कुरूप बनाइरहेको छ। स्वीजरल्यान्ड पार्कमुनिको जंगल किनारमा पनि त्यस्तै छ। सरकारले जथाभावी प्लटिङ गर्न रोक लगाए पनि त्यो क्षेत्रको जंगलको फेदमा डोजरले भत्काइरहेको दृश्य हामीले देखिरहेका छौं। यसबाट प्राकृतिक सौन्दर्यता त गुम्दै छ नै, त्यस क्षेत्रका पानीका मुहान सुकी खानेपानीको हाहाकार हुने सम्भावना पनि त्यत्तिकै छ। यसप्रति कसैलाई चिन्ता देखिएको छैन।

अहिले भीमढुंगादेखि सीतापाइलासम्म आइपुग्दा भेटिने दर्जन बढी खोलाहरूमा स्थानीयले फोहोर फाल्ने गरेका छन्। गरपालिकाले यसलाई तत्काल नरोक्ने हो भने यो नगरपालिका छिट्टै दुर्गन्धमय हुनेछ। स्वीजरल्यान्ड पार्क व्यवस्थापन समितिको नाममा विभिन्न पिकनिक समूहहरूसँग सरसरफाइ शुल्क उठाइन्छ। तर त्यहाँ पुगेर दिसापिसाब गर्ने व्यवस्थित ठाउँ छैन, जंगल आसपास फोहोर वृद्धि भइरहेको छ। समितिले व्यवस्थित गर्न सकिरहेको छैन। यसमा जनप्रतिनिधिले चासो राखेको सुनिदैन। यो त एउटा क्षेत्रको मात्र कुरा भयो। अरू क्षेत्रको पनि अवस्था यो भन्दा राम्रो होला भनेर अनुमान गर्न सक्ने ठाउँ छैन।

नमुना पर्यटकीय गन्तव्य बनाउन पहिले नगरवासीलाई सचेतना फैलाउन जरुरी छ। हरेक वडाले नयाँ बस्तीहरूमा सार्वजनिक सुनुवाइ गरेर स्थानीयको अपेक्षा र गुनासा सुन्न सक्नुपर्दछ। गुनासाको यथासम्भव सम्बोधन गर्न प्रयत्न गर्नुपर्दछ। जनताले अनुभूत गर्ने गरी विकासको प्रतिफल बाँड्न नसकेसम्म योजना बनाएर मात्र केही हुनेवाला छैन।

– नोदनाथ त्रिताल

चौबिसे गाउँपालिका–३, धनकुटा

हाल: हाँकेको चौतारो, रामकोट

रोजगारी नहुँदा युवापुस्ता कुलतमा
युवापुस्तामा लागूपदार्थ दुव्र्यसनले संस्कारको रूप धारण गरेको छ। सामान्यतः विद्यालय उमेरमा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरू बिस्तारै लागूपदार्थ दुव्र्यसनी बनिरहेका छन्। यसबाट सबै क्षेत्रका परिवार नराम्ररी प्रभावित भइरहेका छन्। दलका नेता, उच्च सरकारी अधिकारी, सेना, प्रहरी, डाक्टर, शिक्षक, व्यापारीदेखि सामान्य श्रम गरेर गुजारा चलाउनेका परिवारका छोराछोरीहरू लागूपदार्थको चपेटामा पर्दै आएको विभिन्न अनुसन्धानले देखाएका छन्।

कुलतमा फसेका छोराछोरीलाई कतिपय अभिभावकले सुध्रिने नाममा विदेश पठाउने गरेका छन्, कतिपयले गुपचुपरूपमा सुधारगृहमा राख्दै आएका छन्। अध्ययनका लागि पश्चिमा मुलुकमा गएका अधिकांश युवा कुलतमा फस्ने गरेका खबर सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन्। नेपालमा विद्यालय उमेरमा लुकिछिपी चुरोट र गाँजा सेवन गर्नेहरू उच्च शिक्षा हासिल गरेर विदेश गएसँगै मदिरा र लागूऔषधको कुलतका कारण गम्भीर दुर्घटनामा पर्ने गरेका अनगिन्ती दृष्टान्त छन्।

वैदेशिक रोजगारमा गएका युवामा पनि पछिल्लो समय कुलतमा फसेर व्यक्तिगत तथा पारिवारिक जीवन नै अस्तव्यस्त भएका छन्। पारिवारिक विचलनका अधिकांश घटनाको मुख्य कारण नै लागूपदार्थ दुव्र्यसन देखिएको छ। नेपालमा विभिन्न आपराधिक घटनामा कुलतमा फसेका युवा नै बढी संलग्न देखिएका छन्। कुलतमा फसिसकेपछि विदेशमा लाखौँ खर्च गरी कमाउन अर्थात् अध्ययन गर्न गएका युवा झनै प्रभावित बन्ने गरेका छन्।

प्रायः युवावस्थामा विदेश जाँदा गर्नुपर्ने संघर्ष र कठिनाइको तनाव भुल्न लागूपदार्थको सहारा लिन बाध्य हुन्छन्, जसले गर्दा तनाव झनै बढ्न पुग्छ।
आर्थिक समस्याका कारण कतिपय युवा आपराधिक कर्ममा समेत संलग्न हुने गर्दछन्। विदेश गएर कुलतमा फसेका युवामध्ये अधिकांशले नेपालबाटै लागूपदार्थ सेवन गर्ने मनोविद्हरूको विश्लेषण छ।

गृह मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर लागूऔषध प्रयोगकर्ताको पुनःस्थापनाका लागि २ सय केन्द्र खुलिसकेका छन्, जसमा उपत्यकाभित्र मात्रै सयवटा छन्। सबै केन्द्र व्यवस्थित र मापदण्डअनुसार चल्न नसकेको गृह मन्त्रालयले जनाएको छ। पुनःस्थापना केन्द्रको बढ्दो संख्याले पनि लागूऔषध प्रयोगकर्ताको स्थिति उजागर हुन्छ।

नेपालमा १ करोड ६ लाख ८९ हजार ८ सय ४२ युवा रहेको बताइन्छ। यो कुल जनसंख्याको ४० प्रतिशतभन्दा थोरै बढी हो। विडम्बना नै मान्नुपर्छ कि नेपालका युवा दैनिक १६ सयको संख्यामा वैधानिक बाटोबाट विदेशिन बाध्य छन्। नेपालमा सक्रिय जनसंख्यालाई सदुपयोग गर्न नसक्नु राज्यकै कमजोरी हो। करिब २० लाखको हाराहारीमा युवा रोजगारका लागि विदेशिनु दुर्भाग्य हो। सरकारले युवालाई दुव्र्यसनबाट मुक्त गर्दै मुलुकलाई समृद्धितर्फ डो¥याउन नेपाली युवालाई आफ्नो भविष्य स्वदेशमै सुनिश्चित गराउनु आवश्यक देखिएको छ।
– सुदन तिमिल्सिना, चितवन

प्रतिक्रिया दिनुहोस्