सभामुख महरा र बेलायती राजदूतबीच भेटवार्ता


नेपाल समाचारपत्र
काठमाडौं
सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सभामुख महराले भेटमा बेलायतसँग नेपालको सम्बन्ध धेरै पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य भइरहनुपर्ने बताउनुभयो। संविधान निर्माणपछि ३ तहको निर्वाचन सम्पन्न गरेर देशले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको भन्दै सभामुख महराले आफूहरू संविधानको मर्मअनुरुप नयाँ ऐन, कानुन निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

‘संविधान निर्माणपछि हामीले ३ चरणका निर्वाचन सम्पन्न गरी तीनै तहमा सरकार निर्माण गरिसकेका छौं’, सभामुख महराले भन्नुभयो– ‘अब हाम्रो मुख्य प्राथमिकता भनेको संविधानको मर्मअनुरुप ऐन कानुन निर्माण गर्नु हो, अहिले हामी कानुन निर्माणतर्फ बढी केन्द्रित छौं।’

संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीयमैत्री संघ गठन गर्नेतर्फ आफूले सोचिरहेको भन्दै सभामुख महराले यस्ता समूहले एकअर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मौका मिल्ने बताउनुभयो। भेटमा सभामुख महराले बेलायतको संसदीय टोलीले नेपाल भ्रमण गर्ने खबर सुनेको भन्दै उक्त टोलीलाई स्वागत गर्न र नेपालका सांसदहरूलाई बेलायत पठाएर त्यहाँको अनुभव सिक्न आफू पनि इच्छुक रहेको बताउनुभयो।
बेलायत सरकारले नेपालमा शिक्षा, सुरक्षालगायतका क्षेत्रमा राम्रो सहयोग गरिरहेको भन्दै सभामुख महराले शान्ति प्रक्रियादेखि भूकम्पको बेला गरेको सहयोग र पहलप्रति पनि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले गोरखा सैनिकहरूको समस्या समाधान गर्न दुवै देशले छलफल गरी उनीहरूको हितमा काम गर्नुपर्ने भन्दै समझदारी हुनेमा विश्वास व्यक्त गर्नुभयो।
सभामुखसँगको भेटमा बेलायती राजदूत रिचर्ड मोरिसले प्रतिनिधिसभाको सभामुख भएकोमा बधाइ ज्ञापन गर्नुभयो। बेलायत र नेपालको सम्बन्ध निकै पुरानो र गहिरो रहेको भन्दै राजदूत मोरिसले आगामी दिनमा यो सम्बन्धलाई अझै दिगो र सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो।
छिट्टै नै बेलायतको संसदीयमैत्री संघको टोली नेपाल आउने भन्दै राजदूत मोरिसले २ देशबीचको संसदीय अनुभव आदानप्रदान गर्न भ्रमण थप फलदायी हुनेमा विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।