सरकारको निर्णयः मन्त्री र कर्मचारीको आफूखुसी विदेश भ्रमणमा प्रतिबन्धदेखि चार अध्यादेश सिफारिसम्म

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

सरकारले मन्त्री र कर्मचारीहरुलाई आफूखुसी विदेश भ्रमणमा जान प्रतिबन्ध लगाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरु, सचिव तथा अन्य तहका कर्मचारीलाई पनि सरकारको अनुमति नलिई आफूखुसी विदेश जान नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

कार्यकर्ता भर्तीकेन्द्र बनेको बसोबास आयोग खारेज

कार्यकर्ता भर्तीकेन्द्र बनेको बसोबास आयोग सरकारले खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले केन्द्रदेखि जिल्लासम्मका बसोबास आयोगका सबै संरचना खारेज गरेको हो । बसोबास आयोगको केन्द्रदेखि जिल्लासम्मका सबै शाखा खारेज गरिएको बताइएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चन्द्रप्रसाद खनालको प्रस्तावमा उक्त आयोगको खारेजीको निर्णय निर्णय भएको हो ।

योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एमालेको लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

सरकारले आयोगलाई पनि पूर्णता दिँदै अन्य सदस्यहरु इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही, दिलबहादुर गुरुङ र रामकुमार फुयाँलसहितलाई योजना आयोगमा नियुक्त गरेको छ ।

हडताल गर्न नपाइने

सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जनताको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हड्ताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

यातायात व्यवसायीले सिण्डिकेट खारेज गर्ने सरकारी निर्णयविरुद्ध हड्ताल गर्न लागेपछि सरकारले सो निर्णय गरेको हो । ट्यांकर व्यवसायीले इन्धन ढुवानीसमेत रोक्ने चेतावनी दिएका छन् ।

यसका साथसाथै सरकारले निम्न चार अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

-बेपत्ता पारिएका व्यक्तिहरूको छानविन सम्बन्धि अध्यादेश

-सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धि अध्यादेश

-राष्ट्रियसभा निर्वाचन गर्न बनेको अध्यादेश

-राष्ट्रिय चिकित्सा शिक्षा ऐन सम्बन्धि अध्यादेश

 

Skip This