काँग्रेस नेता खड्काको आज अन्तिम संस्कार


काठमाडौँ, उपचारका क्रममा निधन हुनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदैछ ।

उहाँको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उहाँकै निवासमा राखिएको छ ।

बेलायतमा उच्च शिक्षा अध्ययनरत नेता खड्काका सुपुत्र अनुराग खड्का आज नेपाल आएपछि धार्मिक विधि र परम्परागत प्रक्रिया पूरा गरेर मात्रै उहाँको पार्थिव शरीरलाई दिउँसो पार्टी कार्यालयमा राखिने बताइएको छ । यही चैत ९ गतेदेखि निर्वाचन समीक्षा गर्न जारी काँग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ बजे बस्ने भनिएको साताँै दिनको बैठक स्व खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।