ईश्वरराज ढकाल, काठमाडौं
आफू अनुकूलका शिक्षक र स्रोत व्यक्तिलाई मनपरीरूपमा सरुवा गर्ने प्रवृत्ति बढेको भन्दै संघीय मामिला तथा स्थानीय मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले चासो देखाएको छ।
सो मन्त्रालयले शिक्षा मन्त्रालयलाई शिक्षकहरू जुनसुकै खालको काजमा रहेको भए पनि १५ दिनभित्र जुन विद्यालय र क्षेत्रमा दरबन्दी छ, त्यसै विद्यालय र क्षेत्रमा हाजिर गर्ने गरी पत्राचार गर्न निर्देशन दिएको छ।
शिक्षा सचिव मघु रेग्मीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थापलियाले पत्र पठाएर उक्त निर्देशन दिनुभएको हो। संघीय मामिला मन्त्रालयले सबै कर्मचारीलाई १५ दिनभित्र आफ्नो स्थानमा हाजिर हुन चेतावनीपूर्ण आग्रह गरेपछि शिक्षा मन्त्राललाई समस्या परेको छ।
काठमाडौंलगायत अधिकांश जिल्ला शिक्षा कार्यालयले मनोमानी रूपमा शिक्षक सरुवा गरेको थियो। भने केही स्रोत व्यक्तिलाई उनीहरूको आग्रहमा घर पायक सरुवा गरिएको थियो। स्थानीय निकायका जनप्रतिनिधिले पहिलो तारो शिक्षकलाई बनाउँदै आफूखुसी शिक्षकसमेत सरुवा गर्न थालेका थिए।
संघीयतासँगै विद्यालय तहसम्मको शिक्षा सञ्चालन गर्ने जिम्मा स्थानीय तहको भएको भन्दै स्थानीय तहलाई जिम्मा दिएको २३ वटा काममा समेत शिक्षा मन्त्रालयले सहयोग गर्नुपर्ने जनाउँदै शिक्षा सचिव रेग्मीलाई सम्बोधन गरी पत्र पठाइएको थियो।
सो पत्र पठाएपछि शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने तयारी गरेको छ। संघीय मन्त्रालयले गएको बुधबार शिक्षा मन्त्रालयलाई उक्त पत्र पठाएको थियो। शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले सो विषयमा छलफल गरी कार्यन्वयन गर्ने जानकारी दिनुभयो।
उहाँले भन्नुभयो– ‘पत्रको विषयमा अध्ययन गर्नेछौं, त्यसपछि निर्णयमा पुग्छौं।’ काजमा सरुवा भएका शिक्षकहरू भने राजनीति सोर्सफोर्सको आधारमा पायक पर्ने स्थानमा सरुवा भइसकेका छन्। जिल्ला शिक्षा कार्यालयले मनपरी रूपमा सरुवा गरेको शिक्षकको विवरण शिक्षा मन्त्रालयसँग छैन।
संघीय मामिला मन्त्रालयले पठाएको पत्रमा कतिपय विद्यालयका शिक्षक कर्मचारीहरू दरबन्दी रहेका विद्यालयभन्दा बाहिर काजमा खटाइएको, अन्य विद्यालयमा कार्यरत रहेको, स्रोत व्यक्तिको रूपमा कार्यरत रहेको, सदरमुकाम वरिपरिका विद्यालयमा दरबन्दीभन्दा बढी शिक्षक अध्यापन कार्यमा संलग्न रहेकोलगायतका कारणले विद्यालयमा पर्याप्त मात्रामा विषयगत शिक्षक उपस्थिति नरहँदा ती विद्यालयमा पठनपाठनमा अवरोध पुगेकाले सबै शिक्षक र स्रोतव्यक्तिलाई १५ दिनभित्र आफ्नो विद्यालय र क्षेत्रमा हाजिर हुन पत्राचार गरेको उल्लेख गरिएको छ।
त्यसैगरी एकै स्थानीय तहका शिक्षक र कर्मचारीले अर्को स्थानीय तहमा कार्यरत रहदा विद्यालयको शिक्षक कर्मचारीको लतबभत्तालगायतका सुविधाहरूसमेत अपुग हुने समस्या टड्कारो रूपमा सिर्जित भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पत्रमा उल्लेख छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै जिल्ला समन्वय समिति र सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई मन्त्रालयको निर्देशनअनुसार काम भए–नभएको अनुगमन र समन्वय गर्न आग्रह गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार अधिकांश जिल्लामा यस्तो समस्या रहेको जनाएको छ।











प्रतिक्रिया