मन्त्रालयको पुनर्गठन शुरू

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सरकारले मन्त्रालयहरूको पुनर्गठन कार्यलाई अघि बढाएको छ।

सरकारले हालै जारी गरेको नयाँ कार्यविभाजन नियमावली–२०७४ अनुरूप मन्त्रालय पुनर्गठन कार्यअघि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता डिल्लीराम शर्माका अनुसार अहिले नयाँ नयाँ कार्यविभाजनअनुसार पुनर्संरचनाको काम अघि बढाएको हो।

सरकारले यसअघि ३१ वटा मन्त्रालयबाट घटाई १८ वटा मन्त्रालय राख्ने निर्णय गरेको थियो। कार्य विभाजन गरिएका मन्त्रालयको काम कारबाहीबारे गत फागुन ११ गते राजपत्रमा सूचना प्रकाशित गरेर सार्वजनिक गरेको थियो।

‘चाँडै नै पुनर्गठन गरी मन्त्रालयलाई पूर्णता दिन्छौं।’ –प्रवक्ता शर्माले पुनर्संरचना नहुँदासम्म अहिले रहेका मन्त्रालयका कर्मचारी पुनर्गठित मन्त्रालयमा नै रहेर काम गर्ने पनि जानकारी दिनुभयो।

सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर कुन मन्त्रालयमा कति कर्मचारी रहने तयार गरिरहेको कार्यालयले जनाएको छ। ‘अहिलेका १८ वटा मन्त्रालयसँगै कर्मचारी पनि पक्कै घट्नेछन्’, उहाँले भन्नुभयो– ‘सर्वेक्षण गरेर कुन मन्त्रालयमा कति कर्मचारी आवश्यक हुन्छ त्यसको निर्णय गर्ने छौं।’

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, खानेपानी तथा शहरी विकास मन्त्रालय, गृह, जलस्रोत तथा ऊर्जा, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय राखेको छ।

यस्तै श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन्।