काठमाडौं, (नेस)
पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुई दिने नेपाल भ्रमणका सिलसिलामा सोमबार नेपाल आउँदै हुनुहुन्छ।
अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन र सम्मेलनको नयाँ मिति तय गर्न भ्रमण केन्द्रित हुने।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन आउने अब्बासीले ओलीसहित अन्य शीर्ष दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने बताइएको छ। ‘प्रधानमन्त्री नेपाल आउने निधो भएको छ, भ्रमणको विस्तृत कार्यतालिका तयार हुने क्रममा छ।’ –काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने।
अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन र सम्मेलनको नयाँ मिति तय गर्न उहाँको भ्रमण केन्द्रित हुने ती अधिकारीले बताए। यही वर्ष (सन् २०१८) भित्र आफ्नो मुलुकमा सार्क सम्मेलन सम्पन्न गराउने प्रयासस्वरूप प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र भएकाले अब्बासीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै हुनुहुन्छ। यसअघि सन् २०१६ नोभेम्बर ९ र १० तारिखका लागि पाकिस्तानमा तय भएको सार्कको १९औं सम्मेलन भारत–पाकिस्तान सम्बन्धका कारण स्थगित भएको थियो। १९औं सम्मेलनका लागि आफ्नो मुलुक प्रतिबद्ध रहेको पाकिस्तानले बताउँदै आएको छ।











प्रतिक्रिया