निर्वाचन कार्यतालिका सार्वजनिक, देउवाविरुद्ध सिंहले उम्मेदवारी दिने

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको नेता छनोटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार भोलि आइतबार साँझ ६ बजेदेखि साढे सात बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिने भएका छन्।

संसदीय दलको नेता तथा संसदीय दलको कार्यसमिति निर्वाचनका लागि चीनकाजी श्रेष्ठको नेतृत्वमा गठित निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मतदान सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेदेखि १ बजेसम्म हुने भएको छ। दलको नेता सर्वसम्मतरूपमा चयन गर्नुपर्ने दबाब चौतर्फीरूपमा आइरहेको भए पनि त्यो सम्भावना नरहने बताइएको छ। सभापति देउवा र पूर्वमहामन्त्री सिंहले उम्मेदवारी दिने घोषणा गरेसँगै सर्वसम्मतीको बाटो बन्द भएको हो।

‘दलको नेता छनोटका लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ, दलको नेतामा मेरो उम्मेदवारी रहन्छ’, नेता सिंहले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मैले पहिलेदेखि नै भन्दै आएको छु, अब नेतृत्व परिवर्तन गर्दै लैजानुपर्छ।’

‘सभापति देउवाले संसदीय दलको नेता बन्न सहयोग गर्नुस् भनेपछि मेरो बोली नै बन्द भयो।’ सर्वसम्मत हुने अवस्थामा दलको नेता बन्न महामन्त्री कोइरालाले पनि आकांक्षा देखाउनुभएको थियो।

 

केही दिनअघि महामन्त्री डा. शशांक कोइराला निवासमा आयोजना गरिएको प्रतिनिधिसभा र राष्ट्रियसभामा पार्टीका तर्फबाट निर्वाचित भएका सांसदहरूको स्वागत कार्यक्रममा पनि सभापति देउवा र पूर्वमहामन्त्री सिंहले संसदीय दलको नेतामा उम्मेदवारी दिने बताएका थिए। सोही बेला संसदीय दलको नेता छनोटको विषयमा राखिएको जिज्ञाशामा महामन्त्री कोइरालाले भन्नुभएको थियो– ‘सभापति देउवाले संसदीय दलको नेता बन्न सहयोग गर्नुस् भनेपछि मेरो बोली नै बन्द भयो।’ सर्वसम्मत हुने अवस्थामा दलको नेता बन्न महामन्त्री कोइरालाले पनि आकांक्षा देखाउनुभएको थियो।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको प्रथम नामावली प्रकाशन आइतबार साँझ पौने ८ बजे गरिनेछ भने उम्मेदवारको दरखास्तउपर दाबी विरोधको समय आइतबार साँझ ८ बजेसम्म तोकिएको छ।

निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिएअनुसार उम्मेदवारको दाबी विरोधको जाँचबुझ गरी दोस्रो नामावली सोही दिन साँझ सवा ८ बजे प्रकाशन गरिनेछ। उम्मेदवारले नाम फिर्ता लिने समय भने आइतबार साँझ सवा ८ बजेदेखि सोमबार बिहान सवा आठ बजेसम्म निर्धारण गरिएको छ। उम्मेदवारीको दरखास्त साथ ४१ हजार रुपियाँ दाखिला गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ।

संसद्को पहिलो बैठक पनि सोमबार नै बस्दै छ। प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको कांग्रेसभित्र संसदीय दलको नेतामा सभापति देउवाले दाबी छोड्नुपर्ने आवाज उठे पनि उहाँले सके सर्वसम्मत नभए चुनावबाटै भए पनि दलको नेता बन्ने तयारी थाल्नुभएको छ।

सभापति देउवाले आफू निकटका नेताहरूलाई संसद्को पहिलो बैठकमा दलको नेतामा निर्वाचित भएर कांग्रेस सांसदको नेतृत्व गर्दै संसद् बैठकमा जाने बताउनुभएको छ।

प्रतिनिधिसभामा रहेका कांग्रेसका ६३ जना सदस्यमध्ये ४० जना सदस्य सभापति देउवाको पक्षमा रहेको बताइँदै आएको छ। रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुट सक्रिय रहेको कांग्रेसभित्र सिटौला प्यानलले देउवालाई नै संसदीय दलको नेतामा सहयोग गर्ने बताइएको छ।

संसदीय दलको नेता बन्न सभापति स्वयंले इच्छा देखाएपछि अरूको दाबी फिक्का हुने संसदीय दलका सदस्य भीमसेनदास प्रधान बताउनुहुन्छ। सिटौला प्यानलका प्रधानको भनाइअनुसार निर्वाचन भए पनि संसदीय दलको नेतामा सभापति देउवाले जित्ने निश्चित देखिन्छ।

कांग्रेस संसदीय दलको नेतामा पौडेल पक्षबाट सिंहले पनि आकांक्षा देखाएकोले सर्वसम्मत रूपमा नेता चयन हुने सम्भावना कम छ। कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेतामा निर्वाचित हुन सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी सदस्यको मत प्राप्त गर्नुपर्नेछ। निर्वाचन भएमा नेता बन्न ३२ मत ल्याउनुपर्नेछ।

पौडेल पक्षका नेताहरूले सभापतिले दलको नेतामा आकांक्षा राख्न नहुने बताए पनि अर्को गुटका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो पक्षका सांसदहरूलाई खास निर्देशन दिनुभएको छैन।

सिटौला पक्षका सांसद भीमसेनदास प्रधानले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार सिटौलाले आफ्नो विवेक प्रयोग गर्नु मात्र भन्नुभएको छ। प्रतिनिधिसभामा सिटौला पक्षका प्रत्यक्षतर्फ ३ र समानुपातिक तर्फका २ गरी ५ जना सदस्य रहेको उहाँको भनाइ थियो। सांसद प्रधानका अनुसार संसदीय दलको नेताको निर्वाचनका सवालमा जोडघटाउ गर्दा सभापति देउवाको पक्षमा ४० जनाभन्दा बढी हुन्छन्। दलको नेतामा आफूले जित्ने निश्चित भएसंगै सभापति देउवाले पौडेल पक्षको कुरा नसुनी आफ्नो तयारी अघि बढाउनुभएको छ।

सभापति देउवाकै कारण कांग्रेसले स्थानीय, प्रादेशिक र संघीय तीनै तहको निर्वाचनमा पराजय भोग्नुपरेको भन्दै पौडेल पक्षका नेताहरूले १३औं महाधिवेशन पछि पार्टीलाई समेत क्रियाशील बनाउन नसकेको र सरकारको नेतृत्व गर्दा पनि जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाइरहेका छन्।
हरेका कुरामा फेल भैसकेको नेतालाई फेरि संसदीय दलको नेतृत्व दिन नहुने भन्दै पूर्वमहामन्त्री सिंहले सभापतिले संसदीय दलको नेतामा आकांक्षा देखाउन नहुने बताउनुभएको छ।

सभापति देउवाले पार्टी विधानअनुसार २ महिनाभित्र गरिसक्नुपर्ने पदाधिकारी मनोनय, केन्द्रीय समितिलाई पूर्णता दिने कार्य तथा विभिन्न विभागलगायत पार्टीका महत्वपूर्ण संरचनालाई गतिशील बनाउन नसकेको आरोप पनि लागिरहेको छ।

कुल १३ जना सदस्य रहेको राष्ट्रियसभामा भने संसदीय दलको नेताले नै राष्ट्रियसभाका लागि नेता मनोनित गर्ने विधानमा उल्लेख छ। राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरू संसदीय दलको सदस्य हुने भए पनि प्रतिनिधिसभाको सदस्यहरू मध्येबाट मात्र दलको नेता निर्वाचित गरिने विधानमा व्यवस्था गरिएको छ।

उपनेता तथा प्रमुख सचेतक र सचेतक भने दलको नेताले नै मनोनित गर्ने छन्। कार्यसमितिको निर्वाचन भने केही दिनपछि मात्र हुने निर्वाचन समितिका संयोजक श्रेष्ठले बताउनुभएको छ। विधानअनुसार संसदीय दलको नेताले प्रतिनिधिसभा संसदीय दलको कुनै १ सदस्यलाई मुख्य सचेतकमा मनोनयन गर्ने व्यवस्था छ। मुख्य सचेतकको सिफारिसमा नेताले प्रतिनिधिसभा र राष्ट्रियसभामा सचेतक मनोनयन गर्नेछन्।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६३ जना सदस्यहरू

शेरबहादुर देउवा
प्रकाशमान सिंह
डा. शशांक कोइराला
मिनेन्द्र रिजाल
गगन थापा
भीमसेनदास प्रधान
राजेन्द्रकुमार केसी
सीताराम महतो
विजयकुमार गच्छेदार
ज्ञानेन्द्रबहादुर कार्की
डा. नारायण खड्का
तेजुलाल चौधरी
प्रदिप गिरी
अमरेशकुमार सिंह
मोहन आचार्य
मोहमत आफ्ताब आलम
देवप्रकाश तिमल्सिना
उमाकान्त चौधरी
प्रमोदकुमार यादव
भरतकुमार शाह
देवेन्द्रराज कँडेल
अभिषेकप्रताप शाह
संजयकुमार गौतम
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जिप छिरिङ लामा
दिव्यमणि राजभण्डारी
ज्ञानकुमारी छन्त्याल
प्रमिला राईं
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मिना सुब्बा
बालकृष्ण खाण
दिलेन्द्रप्रसाद बडु
किशोरसिंह राठौर
सत्यनारायण शर्मा
सूर्यबहादुर केसी
रामबहादुर विष्ट
सुजाता कोइराला
पुष्पा गौतम
डिला संगौला
मिना पाण्डे
उमा रेग्मी
रंगवती शाही
पदमनारायण चौधरी
पार्वती डीसी चौधरी
नमिताकुमारी चौधरी
मानबहादुर विश्वकर्मा
मिनबहादुर विश्वकर्मा
प्रकाश रसाइली
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली
बिनोद चौधरी
स्मृतिनारायण चौधरी
नागेन्द्र कुमार
सीतादेवी यादव
चित्रलेखा यादव
मिनाक्षी झा
अतहर कमाल मुसलमान
सरबत आरा खानम