निमित्तको भरमा चल्दै डोटीका स्थानिय तहहरु



विमल विष्ट, डोटी । स्थानीय सरकारको रूपमा रहेको स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ । डोटीकै पुरानो नगरपालिका दिपायल–सिलगढी नगरपालिका गत भादौ देखि निमित्त कार्यालय प्रमुखकै भरमा सञ्चालन भइरहेको छ ।

तत्कालीन कार्यकारी अधिकृत तुल्सीप्रशाद आर्चायको गत भादौमा सरुवा भएपछि भोजराज शर्माले निमित्त प्रमुखको जिम्मेवारीमा पाएका थिए । डोटीको शिखर नगरपालिकामा पनि कृषि शाखाका कृष्णदत्त पाण्डे निमित्त कार्यकारीको भूमिकामा छन् ।

डोटीको सायल गाउँपालिमामा पनि नायब सुब्बा लालबहादुर बोगटी कार्यकारी प्रमुखको जिम्मेवारीमा छन् । डोटीको पूर्वीचौकी गाउँपालिको प्रमुख पनि निमित्तकै भरमा सञ्चलिछ छ ।

डोटीका ९ मध्ये ६ वटा स्थनीय तह निमित्तकै भरमा सञ्चालन आफ्नो कामकारबाही सञ्चालन गर्दै आएको छ ।

स्थानीय सरकारका रुपमा परिचित थानीय तह नै निमित्त कर्मचारीको भरमा सञ्चालन हुँदा सेवा प्रवाह प्रभाकारी हुन नसकेको सेवाग्राहीको गुनासो छ । सरकारले गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारी भूमिकामा खटाए पनि उनीहरु तोकिएको कार्यालयमा नबस्दा पनि निमित्तको भरमा स्थानीय सरकार चल्न बाध्य छ ।

जनप्रतिनिधिको काम नितिगत निर्णय गर्ने र कर्मचारीको काम कार्यान्वयन भए पनि योजनाको प्रभाबकारी कार्यान्वय हुन नसकेको पूर्वीचौकी गाउँपालिका अध्यक्ष दिर्घ बोगटीले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘दरबन्दी अनुसारका कर्मचारी छैनन् ,त्यसमा पनि कार्यकारी कर्मचारी नहुँदा निमित्त कर्मचारीको भरमा दैनिक कामकारबाही सञ्चालन भइरहेको छ ।’

कार्यकारी र मातहतका कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या भएको सायल गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख लालबहादुर बोगटीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘म अहिले निमित्त कार्यकारीको भूमिकामा छु, सायल गाउँपालिकाको वडा नं. ४ र ६ को वडा सचिव पनि म नै हुँ, यत्रो जिम्मेवारी कसरी सम्हाल्न सकिन्छ ।’ बोगटीले थप भन्नु भयो, ‘कार्यालय समयमा हतार त हुने नै भयो । तर, विहान, राति र बिदाको दिनमा पनि काम गर्नु पर्ने अवस्था छ ।’

कार्यालय प्रमुख मात्र होइन अन्य विभिन्न पदका जनशक्ति अभाव रहेको छ ।गाउँपलिकाका कर्मचारीको दोहरो जिम्मेवारी भएका कारण काममा ढिला सुस्ती भएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष बोगटीले बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘आफ्नो जिम्मेवारीको कामसँगै निमित्त कार्यकारीको पनि जिम्मेवारी सम्हाल्नु पर्दा काममा केही ढिला सुस्ती आउनु स्वभाविक हो, अन्य कर्मचारीहरु पनि दोहरो जिम्मेवारीमा छन ।’

अनुभवी जनशक्ती नहुँदा योजना कार्यान्वयनमा समस्या आएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनु भयो । उहाँले भन्नु भयो, ‘हाम्रा लागि पनि नयाँ अनुभव भइरहेको छ, कर्मचारीका लागि नयाँ काम भएकाले सिक्दै गर्नुपरिरहेको छ । सबै ऐन, कानुन, नियमावली अध्ययन गर्दै जाँदै छौैँ ।’

स्थानीय तह नयाँ संरचना भएकाले काम गर्दै र सिक्दै जानु पर्ने सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्