कृष्णउदास खनाल, वीरगन्ज । क्याम्पसमा अध्ययन अध्यापन र प्रशासनिक सुधारलगायतका माग राखी विगत एक हप्ताभन्दा लामो समयदेखि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा भएको तालाबन्दी अझै खुल्न सकेको छैन ।
खासगरी क्याम्पसका बेथिति सुधारको माग राख्दै नेपाल विद्यार्थी संघआवद्ध विद्यार्थी नेता मनोजकुमार साहको अगुवाईमा यही माघ १२ गते तालाबन्दी भएको हो ।
समस्याको निकास खोज्न शुक्रबार क्याम्पस प्रमुख, प्रशासन र विद्यार्थी नेताबीच भएको वार्ता सफल हुन सकेन । विद्यार्थी नेता साहले क्याम्पस प्रशासन आफ्ना मागमा गम्भीर नदेखिएकाले वार्ता निष्कर्षबिहिन भएको जानकारी दिए ।
विद्यार्थीहरुले पूर्वाधारको तयारीविना लागू गरिएको स्नातकोत्तर तहको समेस्टर प्रणाली खारेज हुनुपर्ने, पुस्तकालयमा संकायअनुसारका किताब उपलब्ध हुनुपर्ने, कर्मचारीहरु नियमितरुपमा काममा आउनुपर्ने, बिएससीको कोर्स पूरा हुनुपर्ने, आवश्यक प्रयोगशालाको व्यवस्था, शिक्षाशास्त्र संकायको भौतिक सुधारलगायतका माग राखेर तालाबन्दी गरेका हुन् ।
क्याम्पस प्रमुख प्रमोद कुशवाहले विद्यार्थी संगठनलाई सहमतिमा ल्याई समाधान निकाल्ने प्रयास भइरहेको बताए । विद्यार्थी नेता साहले आफ्ना मागमा क्याम्पस प्रशासन गम्भीर नभएको आरोप लगाउँदै माग पूरा नभएसम्म ताला नखोल्ने अडान व्यक्त गरे ।











प्रतिक्रिया