चिरञ्जीवी मास्के, दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले कृषि र पर्यटनलाई प्राथामीकतामा राखेर ऐन, नियम तथा निर्देशीकाहरु जारी गरिरहेको छ । कृषकहरुलाई बिभिन्न व्यवसायको लागि अनुदान रकम दिने घोषणा समेत गरेको छ ।
भीमेश्वर नगरपालिकामा कृषि उत्पादन र पशुपालनको राम्रो सम्भावना रहेको तथा धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावना समेत त्यतिकै भएकोले समुन्नत नगर बनाउने उदेश्यका साथ नगरपालिकाले कृषि, पशुपालन र पर्यटनलाई विशेष प्राथामीकतामा राखेर काम गरिरहेको नगरप्रमुख भरत केसीले बताए ।
भीमेश्वर नगरपालिकाले कृषि तथा पशुपालन व्यवसायलाई प्राथामीकता दिदै कम्तिमा दुई वटा उच्च जातको गाई, भैसी खरीद गरी व्यवसाय सुरु गर्नेलाई गोठ निर्माण सुधारका लागि खरिद मूल्यको १० प्रतिशत अनुदान दिने, कम्तिमा १५ वटा उन्नत जातको बाख्रा खरीद गरी व्यवसाय सुरु गर्नेलाई उन्नत खोर निर्माण तथा सुधारका लागि एकमुष्ठ ३० हजार अनुदान दिने, कम्तिमा १५ वटा स्थानिय जातको माउ कुखुरा खरीद गरी १ सय ५० वटासम्म स्थानिय जातका कुखुरा पालन गर्न उन्नत खोर तथा घेराबार निर्माणका लागि एक मुष्ठ २५ हजार उपलब्ध गराउने र २ देखि ५ वटा मौरी घार खरिद गरी व्यवसाय सुरु गर्नेलाई प्रतिघर एक मुष्ठ ४ हजार अनुदान दिने घोषणा गरेको छ ।
त्यसैगरी भीमेश्वर नगरपालिकाको वडा नम्बर ७ र ८ लाई किवि खेतिको पकेट क्षेत्र बनाउन किवि खेति गर्ने कृषकलाई प्रोत्साहित गर्न ५ वटा बेर्ना खरिद गर्ने कृषकलाई थप ५ वटा बेर्ना नगरपालिकाले अनुदानमा उपलब्ध गराउने तथा अलैची खेति गर्ने कृषकले ड्रायर मेशिन खरीद तथा मर्मतको लागि प्रति समूह ५० हजार अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
भीमेश्वर नगरपालिकाले नगरक्षेत्र भित्र पर्ने भीमेश्वर मन्दिर, त्रिपुरा सुन्दरी, महाङ्काल भगवती, कोटीहोम यज्ञशाला, चरिघ्याङ् गुम्बा लगाएतको क्षेत्रको विकास तथा सम्वद्धन गर्ने, चरिकोट बजालाई सफा बजार बनाउन पहल गर्ने, नगरक्षेत्र भित्र एकिकृत बस्ति निर्माण, ढल, खानेपानी तथा सरसफाईको लागि विशेष योजना सञ्चालन गर्ने लगाएतको योजना बनाई रहेको नगरप्रमुख केसीले बताए ।
चरिकोट बजारलाई व्यवस्थित र सफा बनाउन भीमेश्वर नगरपालिकाले बजार क्षेत्रमा अनधिकृत संरचना, भ¥याङ, छत आदि ३५ दिन भित्र हटाउने, सडकको फुटपाथमा अतिक्रमण गरी पसल फिजाएको भए त्यसलाई हटाउने, पसल, व्यवसाय, बैङ्क, सरकारी तथा गैर सरकारी संघ संस्थाले एकै साईजको बोर्ड राख्नु पर्ने, लामोसागुँ जिरी सडकको १५ मीटर भित्र निर्माण सामग्री राख्न नपाईने लगाएतका आदेश राजपत्र मार्फत जारी गरेको छ ।











प्रतिक्रिया