तीन महिनादेखि शिक्षकले तलब पाएनन्

0
Shares

विनोद सिंह विष्ट, बैतडी । नगरपालिकासँग बजेट अपुग बैतडीको दशरथचन्द नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुले तीन महिना देखि तलब पाएका छैनन् । नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकहरुले तलव नपाएका हुन ।

उनीहरु तलब समयमै उपलब्ध गराईदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयबाट तलब भत्ता बुझ्दै आएका शिक्षकहरुले चालु आर्थिक बर्षको पहिलो चौमासिकको तलब नगरपालिकाबाट पाएका थिए । तर नगरपालिकाले दोस्रो चौमासिकको ३ महिना वित्नै लाग्दा समेत बजेट निकासा गर्न सकेको छैन ।

विगतमा निमिति पाउदै आउएको तलब भत्ता अहिले रोकिदा शिक्षकहरु समस्यामा परेको भन्दै शिक्षक संघ संगठनहरु आन्दोलित भएका छन् । स्थानिय तह गठनपछि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको तलवभत्ता सम्बन्धीत गाउ तथा नगर पालिकाले उपलब्ध गराउनुपर्ने व्यवस्था लागु भएपछि आफुहरुले समयमै तलब पाउन नसकेको नेपाल शिक्षक संघका उपाध्यक्ष घनश्याम लेखकले बताउनुभयो ।

बजेट अपुग रहेकाले अहिले शिक्षकको तलब समयमै दिन नसकिएको दशरथचन्द नगरपालिकाले जनाएको छ । शिक्षा विभागबाट कम बजेट आएकाले तत्काल तलव दिन नसकिएको र अपुग रकम माग गरेको नगरपालिकाका उपप्रमुख मिना चन्दले बताउनुभयो । उहाँले भन्नुभयो “पहिलो चौमासिकमा पनि अपुग रकम आएको र नगरपालिकाले आफ्नो बजेट थपेर शिक्षकलाई तलब खुवाएको हो ।”

नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयहरुका लागि विभिन्न १३ शिर्षकमा बजेट आउने गर्दछ । तर सबै शिर्षकमा विभागबाट न्यून बजेट आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका लागि बार्षिक १६ करोड १९ लाख बढी रकम आवश्यक रहेकोमा १० करोड ७० लाख ८ हजार रुपैयाँको मात्रै अक्तीयारी आएको नगरपालिकाले जनाएको छ ।

विद्यालयहरुका लागि ५ करोड, ४ लाख ७७ हजार रुपैयाँ बजेट अपुग रहेको नगरपालिकाले जनाएको छ । उक्त अपुग रकम अहिले विभागसँग माग गरिएको नगरपालिकाले जनाएको छ ।