मोरङका गाउँमा सिरक बनाउँदै पैसा कमाउँदै भारतीय मजदुर



– गोपालप्रसाद पोखरेल

मोरङ, १२ पुस ः एकातिर मोरङका युवा वैदेशिक रोजगारीमा पसिना बगाइरहेका छन् भने अर्कोतिर यहाँका गाउँ गाउँमा भारतीय मजदुर सिरक, डसना बनाएर यहीँ पैसा कमाइ रहेका छन् ।

यसअघि घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुती कपडालाई रुवा बनाउने मेसिन ट्र्याक्टरमा सँगै लिएर हिँड्न थालेका छन् ।

मोरङका प्रत्येक गाउँमा सडक किनारामा बसेर उनीहरू टोली बनाई दैनिक रु १५ हजारभन्दा बढी कमाउने गरेका छन् । मोरङको कानेपोखरी–७ मा भेटिएका फिरोज आलम एक महिनायता घुम्तीरुपमा सिरक डसना बनाउँदै हिँड्नु भएको छ ।

भारतको मोतिहारी स्थायी घर बताउने आलमको टिममा थप सातजना कामदार छन् । ट्र्याक्टरमा सुतीका थोत्रा कपडा मिक्सिङ गरेर (फिटेर) रुवा बनाउने मेसिन लिएर हिँडेको उनीहरूको टिमले दैनिक रु १५ हजारभन्दा बढी कमाइ गर्दै आएको छ ।

अझ रोचक कुरा त उनीहरूले भारतबाटै सिरक, डसना र सिरानीका पल्ला र खोलसमेत लिएर आउने गरेका छन् । सियो, धागो नेपालमा उत्पादन हुँदैन, त्यसैले सियो धागो पनि उतैबाट ल्याउने गरेको फिरोजले बताउनुभयो ।

सुतीका साडी, सिरकका खोल, सुतीका सबैखाले पुराना कपडा मिसिनमा हालेपछि रुवा भएर निस्कन्छ । त्यसैबाट डसना र सिरानी बनाउनेको लर्को लागेको स्थानीय मीरा खड्काले बताउनुभयो ।

जिउँदा मानिसको कपडा डढाउनु वा फाल्नु हुन्न भन्ने पूर्वीय मान्यताले गर्दा प्रत्येक घरमा बीसौँ वर्ष पुराना कपडा त्यतिकै थन्किएका थिए । गाउँमा डसना बनाउने मेसिन आएपछि प्रत्येक घरले पालो कुरेर डसना, सिरक बनाएको खड्काको भनाइ छ ।

दैनिक रु १५ हजार कपडा फिटेको र डसना सिलाएबापत प्राप्त रकम थोरै हुने बताए पनि सिरक डसनाको पल्ला र खोल बेच्दा थप रु पाँच हजार आम्दानी हुने फिरोजको भनाइ छ । ट्र्याक्टर भाडा र इन्धन खर्चमा रु चार हजार खर्च हुन्छ । कपडा फिटेको प्रतिकेजी रु २५ र सिलाएको १० केजीसम्मको सिरक डसनाको रु ५०० ज्याला लिने गरेको उहाँले बताउनुभयो ।

सिरक बनाउने भारतीय कामदार मोरङको सुन्दरहरँैचा–१, बेलबारी, उर्लाबारी, पथरी, बयरवन, इटहरालगायतका बजारमा स्थायीरुपमा बसेका छन् ।

उनीहरू मौसमअनुसार आफ्नो सीप प्रयोग गरेर नेपालबाट पैसा कमाएर लाने गर्छन् । मोबाइल रुपमा ट्र्याक्टर पछाडि रुवा फिट्ने मेसिन लिएर हिँड्नेको संख्या पनि १४ रहेको फिरोजको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालीहरू ‘थर्ड क्लास’ काम भनेर गर्दैनन् ।” उहाँले आफ्नो बाजेले पनि धुनियाँ बोकेर ताप्लेजुङसम्म पुगेर सिरक छापेको बताउनुभयो । “मात्र प्रविधि फेरिएको हो, काम उही हो, हाम्रो परम्परागत पेशा नै यही हो,” उहाँले बताउनुभयो ।

सिरक डसना छाप्नेमात्र होइन, मौसमअनुसारका घरायसी सामग्री साइकलमा बोकेर गाउँगाउँ घुम्ने भारतीयको संख्या दुई हजार ५०० भन्दा बढी रहेको भारतको पूर्णियाबाट व्यापार गर्न आउनु भएका साकिर हुसैनको भनाइ छ ।

एउटा साइकलमा झण्डै ५० प्रकारका घरायसी भान्साका सामानदेखि लुगाफाटोसम्म बोकेर गाउँगाउँ हिँड्ने उनीहरू दैनिक रु ८०० सम्म कमाइ हुने बताउँछन् ।

उनीहरु भन्छन्– इटहरीमा डेरा छ । बिहान सबेरै उठेर आफ्नो साइकल र सामान भण्डारण गरेको चोकमा पुग्छौँ र व्यापारका लागि हिँड्छौँ । एउटा टिममा दुईदेखि आठजनासम्म हिँड्ने उनीहरूको खाना नास्ताको टुंगो हुँदैन । जहाँ जतिबेला जे भेटियो, त्यही खान्छौँ, पश्चिम बंगाल घर भएका मानुष वर्माले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्