फेरिएका गन्धर्व



कुमार श्रेष्ठ, बाँके

कोहलपुरको डुडुवा नाला किनारमा बसेका बीरबहादुर गन्धर्वका छोराहरु चन्द्रबहादुर र मानबहादुरले गाडी चलाउँछन् । चन्द्रबहादुर र मानबहादुरले आफ्नो संस्कारिक पेशा सांरगी बजाउन जानेका छैनन् ।

‘गाडी चलाएर छोराहरुले गुजारा गरिरहेका छन्, कार्यक्रमहरुमा सारंगी बजाउने बीरबहादुर भन्नुहुन्छ, पछिल्लो पिढीसँगै राज्यले सारंगीको महत्व बुझेन । मेरा पनि छोराहरुले सारंगी बजाउनेतिर ध्यान नै दिएनन ।’ उहाँले सीप सानो⁄ठूलो नहुने तर्क गर्दै गन्धर्वको संस्कृतिसँग जोडिएको सारंगीको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

डुडुवातिरमा ८० बढी घरहरु गन्धर्वका छन् । सारंगी बजाएर घरघरमा गएर जिविकोपार्जन गर्नेहरु नगन्य छन् । ‘सबैले अन्य पेशा गरेर जिविकोपार्जन गरिरहेका छन्, बीरबहादुरले थप्नुभयो, आधुनिकतासँगै सारंगीको धुन लोप हुँदै गएको छ ।’

बर्दियाको बढैयाताल गाउँपालिका–४ मा गन्धर्वको बस्ती नै छ । ५० घरबढी रहेको गन्धर्वबस्तीमा सारंगी नै बजाएर जिविकोपार्जन गर्नेहरु छैनन् । नेपाल गन्धर्व समाजका उपाध्यक्ष दिलबहादुर गायन नै हारमोनियम बजाउन अग्रसर हुन्छन् त सारंगी बजाउन मन गर्दैनन् । अटोरिक्सा चलाएर जिविकोपार्जन गरिरहेका दिलबहादुरले सारंगी बजाएर हिड्नेलाई समाजले हेयको व्यवहार गर्ने भएकाले सारंगीलाई छोड्दै गएको बताउनुभयो । ‘सम्मानित जीवन बिताउन हामीले पनि अरु पेशा गरिरहेका छौं, दिलबहादुरले भन्नुभयो, अरु समुदायका गरीवले काम गरेर खादा सम्मानित हुन्छन् । हामीले सारंगी बजाएर खादा अपमानित हुनुपर्ने भएकाले गन्धर्वहरु पनि अरु काम गरेर सम्मानपूर्वक गुजारा गर्न अघि बढेका छन् ।’

उपाध्यक्ष दिलबहादुरले सन्ततिहरुलाई सारंगी बजाउन भने सिकाउने पर्ने बताउनुभयो । ‘हाम्रो पुख्र्यौली पेशा, संस्कार हो, सारंगी बजाउन बच्चाहरुलाई सिकाउनुपर्छ । तर, घरघरमा गएर मागेर खाना होइन, कार्यक्रमहरुमा गएर कला देखाउन सकुन्, दिलबहादुरले भन्नुभयो ।
सरकारले जनता आवास कार्यक्रम सञ्चालन गरेर घर निर्माण गरिदिएपछि गन्धर्वमात्रै होइन, गन्धर्वबस्ती पनि बदलिएको छ ।

गन्धर्वबस्तीमा अहिले झुप्रा घर अति कम छन् । जग्गा नभएकाको मात्रै झुप्रो घर छ । घर बनाउन ठाउँसम्म भएका सबैजसोले जनता आवास कार्यक्रममार्फत घर बनाइसकेका छन् । ‘जनता आवास कार्यक्रमअन्तर्गत गन्धर्वबस्तीमा २७ घर निर्माण भइसकेका छन्, २० वटा घर निर्माण सम्पन्न हुने चरणमा रहेका छन्, समाजका अध्यक्ष दिलबहादुर गन्धर्व भन्नुहुन्छ ।

सरकारले घर बनाइदियो । हामीले फरक पेशा अंगालेर अगाडि बढेका छौ, अगुवाहरु भन्छन् । २०७० अघिसम्म सबैका घर झुप्रा थिए । समाजका अध्यक्ष गन्धर्वले २०६८ सालदेखि खाद्य अधिकारको वकालत गर्ने फियान नेपालले सशक्तिकरणको सहयोग गरेपछि समुदायको चेतनास्तर बढेको बताउनुभयो ।

गन्धर्वबस्तीमा आयोजना गरिएको खाद्य अधिकार सवाल, उपलब्धी र आगामी दिनमा सरोकार निकायको भूमिका विषयक कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कैलाश गन्धर्वले सरकारी सहयोग, फियानको सशक्तिकरणले गर्दा अहिले आफूहरुले गाउँको विकासका लागि आफै कार्ययोजना बनाउने हैसियत बनाएको बताउनुभयो । ‘अब हामी गन्धर्वबस्तीलाई नमूना बस्ती बनाउन लागि परेका छौं, अगुवाहरु भन्छन् ।

बढैयाताल गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ, उपप्रमुख दिपा गौतम, वडा नं. ४ का अध्यक्ष कर्णबहादुर थापाले गन्धर्वबस्तीको विकासका लागि विशेष ध्यान दिने प्रतिबद्धता गर्नुभयो । फियानका महासचिव सत्य तोयना, निर्देशक अशोकबहादुर सिंह, क्षेत्रीय संयोजक सुरेश गौतम, सहकर्मी समाजका चम्फासिंह भण्डारीले गाउँको विकासका लागि समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

गन्धर्वबस्तीका अधिकांश मानिस भने भारतमा रोजगारका लागि जाने गरेका छन् । फाटफुट कोही तेस्रो मुलुक पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्