अन्यौलतामा मडारिएको मुलुक



एक पक्षले प्रदेशसभा प्रमुखको नियुक्ति शेरबहादुर देउवाको सरकारले गर्नुपर्छ भन्छ, अर्को पक्षले अब बन्ने वर्तमान सरकारले गर्नुपर्छ भन्छ। यस विषयमा बहस र चर्चा किन ? राज्यकोष ढुकुटीबाट प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि अर्बौं रुपियाँ खर्च भएको छ। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि पनि प्रदेशसभा प्रमुख नियुक्तिबारे राजनीतिक दलका नेताहरुबीच लडाइँ र विवाद किन ?

प्रदेशप्रमुखजस्ता समस्यालाई समाधान नगरीकन प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराइयो किन ? प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि पनि मुलुकमा अझै अन्यौल छ किन ? प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनभन्दा पूर्व नै बाधा, अड्चन र जटिलतालाई समाधान गरेर निर्वाचन गराउनुपथ्र्यो। निर्वाचनपछि पनि जटिलता किन ?

मुलुकमा प्रदेश राजधानी, प्रदेश संरचनाजस्ता धेरै कठिनाइ र जटिलता अझै बाँकी नै छन्। निर्वाचनपश्चात् पनि राजनीतिक दलका नेताहरुबाट फेरि जनआन्दोलन उठाउन खोजी मुलुकमा द्वन्द्व गराउन खोजेको हो ? राजनीतिक दलका नेताहरुबाट नेपाली नागरिकहरुलाई कहिलेसम्म भ्रमित र गुमराह गराई धोका दिइराख्ने ? हामी नागरीक पनि नेताहरुका मीठा भाषण, चुनावी नारा, एजेन्डा र घोषणापत्रहरु पढेर र सुनेर कहिलेसम्म भ्रमित हुने ? मुलुकलाई आज निकास देलान् भन्नु छैन, भोलि निकास देलान् भन्नु छैन, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपश्चात् पनि निकास देलान् भन्नु छैन, किन ?

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपश्चात् मुलुकले कोल्टो र मुहार फेर्नुपर्ने कुरा त परै जाओस्, राजनीतिक दलका नेताहरुमा मुलुकको हित र जनहितको लागि न कुनै दीर्घकालीन भिजन र सोच छ, न कुनै गुरुयोजना छ ? मुलुक संक्रमणकालमा कतिन्जेल चलाइराख्ने ? स्पष्टरुपमा के बुझिन्छ भने, राजनीतिक दलका नेताहरुले मुलुकमा छिट्टै निकास आओस् भन्ने चाहेका छैनन्। मुलुक सधैँ संक्रमणकालको अवस्थाबाट नै गुज्रियोस् र संक्रमणकाल लम्बियोस् भन्ने उनीहरुको मनसाय रहेको बुझिन्छ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपश्चात् अर्को नयाँ जटिलता थपिएको छ। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पश्चात् स्थानीय निर्वाचन गराउनुपर्ने हो। अन्तर्राष्ट्रिय मापदण्ड, प्रक्रिया र नियममा जे छ, त्यही अनुरुप निर्वाचन हुनुपर्ने हो। यदि अन्तर्राष्ट्रिय मापदण्ड, प्रक्रिया र नियमलाई मिचेर प्रक्रिया र नियमभन्दा बाहिर गई हाम्र्रो मुलुकमा निर्वाचन भएको छ भने यसले कानुनी जटिलतालाई पनि निम्त्याउँछ।
मुलुकको हकमा प्रमुख कुरा के छ भने, सात प्रदेशको राजधानी, प्रदेश संरचनाहरु र ८८४ जना सांसदहरुको भारलाई मुलुकले थेग्न र व्यहोर्न सक्दैन। एकछिन्को निम्ति त कसैले भन्लान्– विदेशले आर्थिक सहयोग गरिहाल्छ। तर दातृराष्ट्रहरुले नेपाललाई कतिन्जेल सहयोग गर्छन् ? जमाना स्वार्थी छ। आजभोलि जन्म दिने आमाबाबुलाई त छोराछोरीले फोकटमा हेर्दैनन् भने दातृराष्ट्र, संघसंस्थाहरुले नेपाललाई कतिन्जेल आर्थिक सहयोग गर्लान् ? त्यसैले मुलुकको अन्यौलता अन्त्यका लागि दीर्घ सोचाइ र योजनाको जरुरी छ।

– राकेशकुमार शर्मा, हेटा।ैंडा उमनपा–२, मकवानपुर

कोशीभित्रको सम्भावना

नेपाल जलस्रोतको दृष्टिकोणले विश्वको दोस्रो तथा एसियाको पहिलो धनी देश हो। तर नेपालले जलसम्पदाको पूर्णरुपमा सदुपयोग गर्न सकेको छैन। कहिलेकाहीँ तिनै जलसम्पदाको कारण पुग्ने क्षतिको मात्र आंकलन गर्दा समस्याका रुपमा मात्र हेर्नुपर्ने अवस्था नेपालीहरुमा रहेको छ। सातवटा नदी मिलेर बनेको नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीको पनि सही रुपमा सदुपयोग गर्न सकिएको छैन। कोशीले समय–समयमा पुर्याउने क्षतिको मात्र आंकलन गरी नेपालको केही भाग र भारतको विहारलगायतका ठाउँहरुको पीडालाई भने हेर्ने गरिन्छ। देख्दा सामान्यरुपमा शान्त तवरले बगिरहेको जस्तो देखिने भए पनि नेपाल र भारत दुवै देशमा हरेक वर्ष क्षति पुर्याउने नदी भएको कारणसमेत सप्तकोशी नेपाल र भारत दुवै देशको टाउको दुखाइको विषयसमेत बन्ने गरेको छ।

कोशीले पटक–पटक बहाव परिवर्तन गरी नेपाल र भारतमा धनजनको क्षति पुर्याउँदै आएको छ। कोशीले पुर्याएको क्षतिको क्षतिपूर्तिको विषयसमेत दुवै देशका सरकारका लागि समस्याको विषय बन्ने गरेको छ। कोशी नदीमा पानीको सतह पर्याप्त भए पनि त्यसलाई सदुपयोग गरेर प्रयोग गर्न नसकिएको कारण सम्भावना प्रचूर हुँदाहुँदै पनि यस क्षेत्रका मानिसहरु कोशीलाई पीडाका रुपमा मात्र हेर्न बाध्य छन।

मुलुकको आर्थिक तथा सामाजिक स्तरमा कायापलट गर्न सक्ने सम्भावना बोकेको कोशीलाई सही रुपमा सदुपयोग गरेर रोजगारीका लागि वातावरण बनाउन सके विदेशिने युवाहरुको ठूलो हिस्साले मुलुकमै रोजगारीको अवसर पाउने थिए। सिंचाइ, बिजुलीका साथै जलयात्राको प्रचूर सम्भावना रहेको कोशीलाई सही रुपमा प्रयोगमा ल्याउन सके मुलुकको मुहार फेरिने थियो। तर विडम्बना, कोशीलाई यहाँका मानिसले समस्याका रुपमा हेर्नुपरिरहेको छ। कोशी नजिकैबाट वग्छ तर खेतीयोग्य यहाँका जमिनहरुमा सिंचाइ हुन सक्दैन। वर्षाको समयमा कति बेला कोशी बढेर तटबन्ध भत्काएर बस्तीमा पस्ने हो भनेर हरेक वर्ष यहाँका मानिस त्रसित बन्दै आएका छन्।

जलयात्राको समेत प्रचूर सम्भावना रहको कोशीले २०६५ भदौ २ गते सुनसरीको पश्चिम कुशाहबाट बहाव परिर्वतन गरी पूर्वी तटबन्ध भत्काएर पूर्व–पश्चिम राजमार्गको केही भाग क्षति पुर्याएपछि कोशी पूर्व र पश्चिम जोड्ने माध्यम बन्यो जलयात्रा। त्यही समयमा कोशी वारिपारि गर्न सरकारी तथा निजी क्षेत्रबाट समेत डुंगादेखि लिएर मोटरबोटसमेत सञ्चालनमा आए। कोशीमा मानिसहरुलाई वारपार गर्न ल्याइएका मोटरबोटहरु पछि सुनसरीको चतरादेखि भोजपुरसम्म सञ्चालनमा ल्याइयो निजी क्षेत्रबाट।

कोशीमा मोटरबोट सञ्चालनमा आउन थालेपछि कोशीमा जलयात्राको सम्भावनासमेत देखिएको छ। कोशीमा जलयात्रा सञ्चालनमा ल्याउन सके पहाडी क्षेत्रका मानिसहरुको यात्रा सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्नेछ। कोशी भएर पूर्वका भोजपुर र खोटाङसम्म जलयात्राको लागि मोटरबोट सञ्चालन गर्न सके यात्राका लागि समय तथा खर्च पनि घट्ने थियो। यातायातको सहज पहुँच नभएका ठाउँहरुका मानिसहरुसमेत सहजरुपमा तराईमा आफ्ना उत्पादनहरु पुर्याउन सक्नेछन्। तराईमा उत्पादित सामानहरुसमेत सहजरुपमा पहाडसम्म पुग्न सक्नेछन। यातायातको सुविधाको अभावमा आफ्ना उत्पादनहरु बजारसम्म ल्याउन नसकिरहेकोमा सहज हुनुका साथै स्वास्थ्य उपचारका लागि समेत समयमै तराईसम्म आउन सकिन्छ।

त्यसै गरी सप्तकोशी भएर खोटाङ र भोजपुरसम्म जलयात्राको लागि मोटरबोटहरु सञ्चालन गर्न सके पूर्वी नेपालका प्रसिद्ध धार्मिक स्थलहरुसम्म सहजरुपमा पुग्न सकिन्छ भने पहाडी क्षेत्रसम्मका प्राकृतिक मनोरम दृश्यहरुसमेत अवलोकन गर्न सकिने थियो। नेपाल सरकारले समय–समयमा पर्यटकहरु भित्र्याउन विभिन्न अभियानहरु सञ्चालन गर्ने गरे पनि पर्यटकहरुको संख्या बढाउन सहयोग पुग्ने यस्ता योजनाहरु ल्याउन ध्यान दिएको देखिँदैन। कोशी भएर जलयात्राको लागि मोटरबोट सञ्चालन गर्न सके पूर्वका पशुपति भनेर चिनिने खोटाङको हलेसी, सुनसरीको वराहक्षेत्र, धनकुटाको छिन्ताङ देवीजस्ता धार्मिक क्षेत्रहरुका साथै पूर्वको प्रमुख पर्यटकीय क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसम्मको यात्रा सहज हुने थियो।

सप्तकोशी भएर दूधकोशीको जलयात्रा गर्दै खोटाङको हलेसी महादेवको दर्शन, पूजाआजा गरी त्यही दिन फर्कन तराईका मानिसहरु सक्षम हुनेछन् भने सप्तकोशी हुँदै अरुणबाट धनकुटा र भोजपुरसम्म पनि त्यसरी नै यात्रा गर्न सकिनेछ। पूर्वी नेपालका धार्मिक महत्व बोक्ने सुनसरीको वराहक्षेत्र र खोटाङको हलेसी महादेवको दर्शन तथा पूजाआजा एकै दिनमा गर्न सकिन्छ। धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर पूर्वी नेपालको योजना बनाउने हो भने कोशीको जलमार्गको योजना प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिन्छ।
– निशा मगर, कोशीपारी, हालः ललितपुर

प्रतिक्रिया दिनुहोस्