उठेन दैनिक फोहोर



कुमार श्रेष्ठ, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका वडा कार्यालयहरु आफ्नो ठाउँको फोहोर आफै व्यवस्थापन गर्ने तयारीमा जुटेका छन् ।
उपमहानगरपालिकाले निजी संस्थासँग मिलेर फोहोर व्यवस्थापन गरिरहदा जनगुनासो बढी आएपछि वडाध्यक्षहरु आफैले ट्याक्टर किनेर फोहोर फाल्ने तयारीमा जुटेका हुन् । वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजालले अग्रसरता लिएको यो अभियानमा ३, १२ र १८ नम्बरका वडाध्यक्षले चासो देखाएका छन् ।
उपमहानगरपालिकाका सात वटा र निजी संस्थाका आधा दर्जन ट्याक्टरले दैनिक फोहोर उठाइरहेपनि बजारबाट दैनिक फोहोर व्यवस्थापन हुन सकेको छैन । घर, पसल, अस्पताल, होटलहरुबाट निस्केको फोहोर उही दिन व्यवस्थापन भएका छैनन् ।
‘नगरपालिकाले दैनिक फोहोर उठाउदैन, टोलका मानिसले हामीलाई गाली गर्छन्, एक नम्बरका वडाध्यक्ष रिजालले भन्नुभयो, आफ्नै ट्याक्टर भयो भने त फोहोर पनि उठाउँछ, अरु बेला ग्राभेल ल्याउने–पु¥याउने काम गर्छ । यसले दोहोरो फाइदा हुन्छ ।’
वडाकै योजनाअन्तर्गत ट्याक्टर किन्ने तयारी भएको छ । वडा नं. १ का अध्यक्षको ‘आइडिया’प्रति अरु वडाध्यक्षहरुले चासो देखाइरहेका छन् । नगरपालिकाले अहिले सबै वडामा चार÷चार जना स्वीपर पठाएको छ । ट्याक्टर किनेपछि यी बाहेक दुई जना कर्मचारी परिचालन गर्नुपर्ने वडाध्यक्षहरु बताउँछन् ।
नेपालगञ्ज नगरमा अहिले ३२ टनसम्म दैनिक फोहोर निस्किने गरेको छ । त्यसमा उपमहानगरपालिका र निजी संस्थाले २५ टनजति उठाउने गरेका छन् । अरु फोहोर बजारमा छरपस्ट हुन्छन् । बजारमा नगरपालिकाले ‘रोटेसन’ का आधारमा फोहोर उठाउने गरेको छ । नेपालगञ्ज बजार फोहोरको शहरका रुपमा परिचित छ । स्थानीय निकायको मूल्यांकन हुँदा नेपालगञ्ज फोहोरले गर्दा नै सधैंजसो पछाडी पर्ने गर्दछ । चुनावमा बेला फोहोर व्यवस्थापन यहाँका हरेक उम्मेदवारका नारा बन्ने गर्दछन् । नगरपालिकाका सरसफाई शाखाका प्रमुख अशोक केसीले दैनिक संकलन हुने फोहोर उही दिन सबै उठाउन नसकेपनि पहिलाको भन्दा अहिले धेरै राम्रो भएको बताउनुभयो ।
नगरपालिकाले टोलटोलमा डस्टबिन पनि राखेको छ । स्थानीयले त्यसमा फोहोर फालेको पाइदैन । आफ्नो घर, पसलबाट निस्किने फोहोर एक ठाउँमा थुपारेर नगरपालिकाको ट्याक्टर आउँदा हालिदिने स्थानीयको बानी नै छैन । घरभित्रबाटै पोलिथिनमा राखेर सडकमा फोहोर फाल्ने गरिन्छ । ती फोहोरलाई नगरपालिकाले उही दिन उठाउन सक्दैन भने छाडा पशुले खोतलेर आसपासमा हिड्न नसक्ने गरी गन्हाउने गर्दछ ।
नेपालगञ्ज उपमहानगरपालिकासँग फोहोर फाल्ने ठाउँ पनि छैन । केही दिन यता नगरपालिकाले फूल्टेक्रामा फोहोर फालिरहेको छ । निजी संस्थाले ढोडेगाउँमा फोहोर फालिरहेको छ । हिरमिनियामा बनाउन थालेको डम्पिङसाइटको काम विवादले रोकिएको छ । फोहोर व्यवस्थापन जनप्रतिनिधि आइसकेपछि पनि सहज भएको छैन ।
नगरपालिकाले पछिल्लो दिनमा स्वीपरहरुलाई वडा कार्यालयको जिम्मामा पठाएको छ । स्थायी कर्मचारी स्वीपरले वडाध्यक्षको निर्देशनलाई बेवास्ता गर्ने गरेका छन् । स्रोतका अनुसार, केही वडाले स्वीपरलाई परिचालन गर्न नसकेको गुनासो गरिसकेका छन् । ‘बुढाबुढी छन्, भनेको मान्दैनन्, सधैं काम गर्न पनि आउदैनन्, स्रोतले भन्यो, स्थायी कर्मचारी भएको दम्भ छ । राम्ररी काम गर्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्