एच आइ भी संक्रमित बालबालिका समस्यामा



विनोद सिंह विष्ट, बैतडी । बैतडीमा अझैपनि एच आइ भी संक्रमितहरु खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा हुने भेदभावले एच आइ भी संक्रमितहरु बाहिर आउन नसकेको यो क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा अहिले सम्म २०९ जना एच आइ भी संक्रमित रहेका छन् । २०९ जना मध्ये १०६ जना पुरुष र १०३ जना महिला रहेका छन् । ती मध्ये २७ जना १८ बर्ष मुनिका बालबालिकाहरु रहेका छन् । एच आइ भी संक्रमित मध्ये १०४ जना मात्रै उपचारमा रहेका एच आइ भीको क्षेत्रमा काम गरिरहेको संस्था बहुउद्देश्यीय विकास समाज बैतडीका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले बताउनुभयो । २०६४ सालदेखि अहिले जिल्लामा एच आइ भी एड्सबाट ३१ जनाको ज्यान गईसकेको छ ।

समाज हुने विभेदका कारण अझै पनि संक्रमितहरु खुलेर बाहिर आउन नसकेकाले एच आइ भी संक्रमितहरुको संख्या अझै बढी हुन सक्ने पन्तले बताउनुभयो । एच आइ भी बारेको गलत बुझाईले पनि एच आइ भी संक्रमितहरुलाई समाजमा समस्या हुने गरेको छ ।

जिल्ला अस्पतालमा एचआइभि सक्रंमितहरुको लागि एआरटि सेन्टर भएकाले उनिहरु नियमित आएर औषधी सेवन गरीरहेको बताइएको छ । बैतडीमा अझैपनि एचआइभि सक्रमितहरुलाइ हेर्ने दृटिकोण नराम्रो रहेकाले उनिहरु लुकेर बस्न बाध्य हुनेगरेका छन् । एचआइभि सक्रमित नराम्रो क्रियाकलापले मात्रै लाग्ने ग्रामिणस्तरका नागरीकका सोचले उनिहरुलाइ हेर्ने दृष्टिकोण नराम्रो हुदा नियमित औषधि सेवन नगर्ने र लुकेर बस्ने गरेको एचआइभि एड्सको क्षेत्रमा कामगर्नेहरुले बताएका छन् । पश्चिम क्षेत्रमा बढी संक्रमित रहेको पाइएको छ ।

यस क्षेत्रबाट रोजगारीका सिलसिलामा भारत जाने र त्यहाँबाट फर्किंदा एचआइभी लिएर आउने गरेको बहुउद्देश्यीय विकास समाज बैतडीका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

संक्रमित बालबालिकाहरु समस्यामा
बैतडीमा एच आइ भी संक्रमित बालबालिकाहरु समस्यामा परेका छन् । एच आई भी संक्रमित बालबालिकाहरुको शिक्षा,स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेको एच आइ भी को क्षेत्रमा काम गरिरहेको संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले जानकारी दिनुभयो । जिल्लामा हाल १९ जना एच आइ भी संक्रमित बालबालिकाहरु सम्पर्कमा आएको उहाँले बताउनुभयो । एच आइ भी संक्रमित बालबालिकामध्ये अधिकांशले अभिभावक गुमाईसकेकाले उनीहरुलाई झन् समस्या भएको छ । एच आइ भी संक्रमित बालबालिका मध्ये कतिपयले आमा र बुवा दुईटै गुमाईसकेका छन् भने धेरैले आमा वा बुवा मध्ये एकजना गुमाईसकेका छन् ।
एच आइ भी संक्रमित बालबालिकाहरुका लागि सरकारका तर्फबाट पनि त्यस्तो खालको कुनै कार्यक्रम नभएकाले उनीहरुले शिक्षाबाट वञ्चित भईरहेका छन् । संक्रमित बालबालिकाहरुलाई अहिले बहुउद्देश्यीय विकास समाज डडेल्धुराले मासिक एक हजारका दरले छात्रवृति र औषधिको व्यवस्था गर्दै आएको भएपनि १८ बर्षमाथिका लाई भने कुनै सहयोग नभएको पन्तले जानकारी दिनुभयो । एच आइ भी संक्रमित बालबालिकाहरुलाई औषधिसंगसंगै पोषणको आवश्यकता पर्ने भएकाले उनीहरुमा कुपोषणको समस्या देखिएको उहाँले बताउनुभयो ।

असुरक्षित यौनसम्पर्क, संक्रमित रगत, संक्रमित सुई सिरिन्ज तथा छाला छेड्ने औजार र संक्रमित आमाबाट बच्चामा सर्छ । एच आइ भी संक्रमितका समस्या र अपनाउन सकिने उपायका बारेमा राज्यका निकाय मौन बसेकोले भेदभाव कायमै रहेको छ ।
कतिपय ठाउँमा एच आइ भी संक्रमण भएकाहरुले औषधि सेवन गर्न नमानेकाले सचेतनाका कार्यक्रम अझै आवश्यक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्