कांग्रेसका पूर्वमन्त्री आफ्नै पिएसँग पराजित



काठमाडौं । कैलाली क्षेत्र नं २ मा कुनै समय स्वकीय सचिव (पिए) रहेका व्यक्तिले मन्त्रीलाई हराएका छन्। पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौरलाई उनका तत्कालीन स्वकीय सचिव झपट रावलले १ हजार ८ सय ४४ मतले पराजित गरेका हुन्।

एमालेबाट उम्मेदवार बनेका रावलले २५ हजार १ सय ५७ मत ल्याए भने कांग्रेसका मोहनसिंह राठौरले २३ हजार ३ सय १३ मत ल्याएका छन्।

उनीहरुको प्रतिस्पर्धामा सबैभन्दा रोचक मानिएको थियो। किनकि पहिलो संविधानसभा निर्वाचन अगाडि बनेको अन्तरिम सरकारमा राठौर शिक्षा राज्यमन्त्री रहँदा रावल उनका स्वकीय सचिव थिए।

रावल वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार बनेका हुन् भने राठौर नेपाली कांग्रेसबाट प्रतिस्पर्धामा उत्रिएका हुन्। एमालेका पुराना नेता राठौर पार्टीबाट टिकट नपाएपछि चुनावको केही दिनअघि मात्र कांग्रेसमा गएका थिए।

रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावलका प्रिय पात्र हुन्। उनी मन्त्री हुँदा झपट पटकपटक पिए भएका थिए। झपटलाई ७ नम्बर प्रदेशको राजनीतिमा आफ्नो उत्तराधिकारी बनाउने नेता रावलको चाहना छ। झपट युवा संघका उपाध्यक्ष हुँदै एमाले वैकल्पिक केन्द्रीय सदस्य भइसकेका छन्।

उपाध्यक्ष रावलसँगको निकटताका कारण झपटले टिकट पाएपछि राठौर कांग्रेस प्रवेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्