समानुपातिकमा एमाले अगाडि



सुनील महर्जन, काठमाडौं
प्रतिनिधिसभाको समानुपातिक तर्फको करिब ३५ प्रतिशत मतगणना सम्पन्न भएको छ। १ करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये मंगलबारसम्ममा ३५ लाख ९३ हजार ७ सय ६० मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार एमालेले करिब ८७ हजार मतले अग्रता लिएको छ। एमालेलाई कांग्रेसले पछइइरहेको छ। एमाले हालसम्म १३ लाख ११ हजार ३२ मत पाइसकेको छ भने कांग्रेसले १२ लाख १९ हजार ९ मत पाएको छ। त्यसै गरी माओवादी केन्द्रले ५ लाख २३ हजार २ सय ७२, संघीय फोरमले १ लाख ७ हजार १ सय २८, विवेकशील साझा पार्टीले ७९ हजार ५ सय ४८ र राप्रपाले ७९ हजार ५ सय ४७ मत पाएका छन्।

त्यस्तै राष्ट्रिय जनता पार्टीले ६७ हजार ४ सय ७, नयाँ शक्तिले ४३ हजार १ सय ८३, राष्ट्रिय जनमोर्चाले २७ हजार ८ सय ८ र राप्रपा (प्रजातान्त्रिक) ले २७ हजार ४ सय १४ मत पाएका छन्। मतगणना भइरहँदा कुन दलको कति सिट निर्धारण हुन्छ भनेर सबैतिर चासो छाएको छ। निर्वाचन आयोगको तयारीअनुसार बढीमा एक सातामा समानुपातिकतर्फको पनि मतगणना सक्ने लक्ष्य छ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ को उम्मेदवार छनोट प्रक्रिया सम्बन्धमा धारा ३१ मा व्यवस्था गरिएको छ। आयोगका अनुसार कुल सदर मतको ३ प्रतिशत नकटाउने दलको मत हिसाब हुनेछैन। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० को व्यवस्थाअनुसार सबै निर्वाचन क्षेत्रबाट आयोगले विवरण प्राप्त गरिसकेपछि आयोगले दलले प्राप्त गरेको कुल सदर मत संख्याको अनुपातमा मतपरिणाम विभाजक सूत्रका आधारमा निर्वाचित हुने सांसद संख्या तय गर्ने आयोगले जनाएको छ।

दलहरूले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी प्राप्त गर्ने सिट संख्या बाँडफाँड गर्दा कुनै सिटमा भागफल बराबर भएमा गोला हाली सिट बाँडफाँडको छिनोफानो हुनेछ। मतपरिणाम विभाजक सूत्रअनुसार प्रत्येक दलका लागि खसेको मतलाई भाग गर्ने पद्धतिले निरन्तर भाग लगाइनेछ। यसअनुसार दलले प्राप्त गरेको मतपरिणामलाई धेरै भाजक अंकले भाग गरिन्छ। उल्टो क्रमबाट १, ३, ५, ७, ९ जस्ता बिजोर अंकले भाग गरी सिट निर्धारण गरिन्छ।

सिट संख्या ठूलो भागफलबाट सानोलाई बाँडफाँड गर्दै तोकिएको सिट नसकिँदासम्म बाँडफाँड गरिनेछ। सिट बाँडफाँड गर्दा कुनै पनि दलले जतिसुकै मत प्राप्त गरेको भए पनि त्यस्तो दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार संख्यामा सीमित रही सिटको बाँडफाँड हुन्छ।
एक सिटका लागि थ्रेसहोल्ड कति कायम हुन्छ भन्ने अंक गणित नमिल्न सक्छ। मत विभाजक सूत्रका आधारमा अन्तिम सिटसम्म भाग गर्दै जाँदा आउने अन्तिम सानो एकाइ एक सिट प्राप्तका लागि हुने औसत मत कायम हुन्छ।

यसरी सिट बाँडफाँड गर्दा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत कुल मतमा गणना हुँदैन। यसरी थ्रेसहोल्ड नकटाउने दलले पाएको मत खेर नै गए पनि बाँकी मत शतप्रतिशत मान्दा सिट पाउने अन्य दललाई अप्रत्यक्ष फाइदा हुन्छ। यसले सिट पाउन चाहिने न्यूनतम मत संख्यालाई कम गर्नेछ।

तोकिएको थ्रेसहोल्ड कटाएको अवस्थामा राजनीतिक दलले कम्तीमा चार सिट पाउन सक्छ। दलहरूले उम्मेदवार सिफारिस गर्दा समानुपातिक समावेशी रूपमा सिफारिस गर्नुपर्ने बताइएको छ। प्रतिनिधिसभाका लागि देशभरको समानुपातिक समावेशी सूची तयार पार्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्